खासगरी सिनेमा हलमा पपकर्नको खपत धेरै हुने गरेको छ । पपकर्न खाँदै सिनेमा हेर्नुको मज्जा छुट्टै हुन्छ । पपकर्न सादादेखि विभिन्न फ्लेबरमा समेत पाइन्छ ।
सिनेमा घर मात्र होइन, घरमा पनि पपकर्न खाने प्रचलन बढ्दो छ । पपकर्न बालबालिकादेखि वृद्धवृद्धासम्म सबैलाई मनपर्ने खानेकुरा हो । सादा पपकर्न संसारको सबैभन्दा स्वस्थ स्न्याक फुडमध्ये एक मानिन्छ ।
पपकर्नमा कार्बोहाइड्रेट, फाइबर, भिटामिन बी कम्प्लेक्स, फस्फोरस, जिंक, म्याग्निज र आइरन लगायतको पोषक तत्व पाइन्छ । युनिभर्सिटी अफ स्क्र्यान्टनले गरेको एक अध्ययनअनुसार पपकर्नमा राम्रो मात्रामा ‘पोलिफेनोल एन्टिअक्सिडेन्ट’ पाइन्छ, यी पोलिफेनोल हाम्रो रक्तसञ्चारका लागि निकै महत्वपूर्ण हुन्छन् । साथै, पपकर्नले पेट स्वस्थ राख्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ ।
तर यदि तपाईं पपकर्नलाई फिल्म हलमा खाँदै हुनुहुन्छ भने यो भने स्वास्थ्यका लागि फाइदाजनक नहुन सक्छ ।
कस्तो अवस्थामा पपकर्न हानिकारक हुन्छ ?
हामीले फिल्म हलमा खाने गरेको चीज र कारमेल लगायत पपकर्न स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छ । र, हानिकारक हुनुको कारण पपकर्न बनाउने प्रक्रिया हो ।
प्रशोधन सही भएन भने स्वस्थकर लाग्ने खाना पनि स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । यसको उत्कृष्ट उदाहरण आलु हो । उसिनेको आलु पोषक तत्त्वले भरिपूर्ण हुन्छ, तर त्यही आलुबाट फ्रेन्च फ्राइज बनाइयो भने त्यसमा ट्रान्सफ्याटको मात्रा हुन्छ । ट्रान्सफ्याट एक प्रकारको स्वास्थ्यका लागि अति हानिकारक चिल्लो पदार्थ हो । चिल्लो पदार्थमा पाइने ट्रान्सफ्याटको कारण कम उमेरका मानिसमा पनि हृदयघात र मस्तिष्कघात हुनसक्छ ।
त्यसैगरी सिनेमा हल वा सुपर मार्केटमा पाइने पपकर्नमा धेरै प्रकारका केमिकल मिसाइएको हुन्छ । यसमा ट्रान्स फ्याट र नुन पनि धेरै मात्रामा हुन्छ । यो खाँदा रक्तचाप र हृदयरोगको जोखिम बढ्न सक्छ ।
सादा पपकर्न निकै फाइदाजनक भएपनि फिल्म हलमा पाइने मसला, चीज र बटर भएका पपकर्न मन्द विष जस्तै हुनसक्छन् । सादा पपकर्नमा अलिकति नुन छर्केर खाँदा फाइदा हुन्छ तर चीज, बटर, कारमेल मिसाउँदा त्यसमा क्यालोरी धेरै हुन्छ । धेरै क्यालोरीयुक्त खानाको सेवनले मोटोपन र कालान्तरमा मधुमेह उच्च रक्त जस्तो समस्या निम्तिन सक्छ ।
प्याकेट बन्द ‘तुरुन्त पकाएर खान मिल्ने पपकर्न जसमा मसला र बटर हुन्छ’ यस्तो पपकर्नमा सोडियमको मात्रा बढी हुन्छ । यसको दैनिक धेरै सेवन गरियो भने यसले उच्च रक्तचापको समस्या निम्त्याउन सक्छ ।
प्याकेट बन्द पपकर्नमा ट्रान्स फ्याटको मात्रा धेरै हुन्छ । यसको दैनिक सेवनले शरीरमा ट्रान्स फ्याट बढाउँछ, जुन मुटुको स्वास्थ्यका लागि हानिकारक हुन्छ । बजारमा पाइने प्याकिङ पपकर्नमा कृत्रिम रंग, स्वाद र प्रिजरभेटिभको प्रयोग गरिन्छ, जसले स्वास्थ्यका लागि झन् हानिकारक हुन्छ । बजारमा पाइने पपकर्नमा धेरै मात्रामा बटरको प्रयोग भएको हुन्छ, जसले यसमा अतिरिक्त क्यालोरी थप्छ । साथै, यसलाई दैनिक खाँदा तौल पनि बढ्न सक्छ ।
मानिसहरू पपकर्नलाई हल्का खाजाको रुपमा लिने गर्छन् र धेरै मात्रामा खाने गर्छन् । पपकर्न धेरै मात्रामा खानु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ, जसले छिटो तौल बढाउन सक्छ ।
माइक्रोवेभमा बनाइने पपकर्न केमिकल भएको प्याकेटमा आउँछ । माइक्रोवेभमा बनाइएको पपकर्नले क्यान्सर निम्त्याउँछ, किनभने पपकर्नलाई माइक्रोवेभमा राख्दा पर्फ्लुरोओक्टानोइक एसिड बन्छ । यो एक प्रकारको सिन्थेटिक रसायन हो, जसले प्यान्क्रियाज, मिर्गौला, पिसाब, कलेजो र अण्डकोषको क्यान्सर गराउन सक्छ ।