सर्लाही ट्राफिक प्रहरीको राेकिएन असुली धन्दा

२०८१ जेष्ठ २८, सोमबार ०८:५२

एसके यादव, सर्लाही – पुर्व-पश्चिम राजमार्ग भएर आवतजावत गर्ने सवारी साधनका चालकसँग ट्राफिक व्यवस्थापनमा खटिएका सर्लाही ट्राफिक प्रहरीहरुले अनेकन बहानामा रकम असुल्ने र रकम नदिए दुःख दिने गर्दै आएको उनीहरुले गुनासो गरेका छन् । त्यसै गरि भारतीय नम्बरको गाडीहरूबाट विभिन्न चेकजाँचको बहानामा रकम असुलने गरेको विभिन्न संचारमाध्यममा समाचार आएको थियो । त्यसैले पनि अहिले मालवाहक ट्रक, ट्यांकर तथा ट्रिपर व्यवसायीहरू ट्राफिकसँग आजित बन्न थालेका छन् ।

भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभर लोड नै आउने गर्छ र ट्राफिकसँग समन्वय गरि एजेंटहरुले मालवाहक सवारीका साहुसँग ठेक्का मिलाई पास गराउँदै आएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयमै कार्यरत प्रहरी सहायक निरिक्षक राजकुमार थापा, प्रहरी हवल्दार शिव काफ्ले, सहायक प्रहरी हवल्दार डिल्ली काफ्ले त्यसै गरि प्रहरी चौकी कविलासीमा कार्यरत वरिष्ठ ट्राफिक प्रहरी हवल्दार प्रविण झा रकम असुली गर्न माहिर मानिन्छन् ।

प्रहरी सहायक निरिक्षक राजकुमार थापाले भारत बाट आएका सबै गाडीहरुबाट विभिन्न बहाना लगाएर पैसा असुल्ने गरेको स्रोतले बताएका छन् । स्रोतका अनुसार मोटरसाइकल देखि लिएर ठुला ठुला मालबाहक ट्रकहरु संग सबै भन्सार देखि लिएर सबै कगजपत्र हुदाहुदै पनि पैसाका लागि जबर्जस्ती घण्टौ सम्म गाडी रोकिदिने गरेको छ । अस्थाई ट्राफिक प्रहरी कार्यालय नायारोडमा कार्यरत प्रहरी सहायक निरिक्षक सचिन कुमार मिश्रले सोही ठाउँमा रहेका धर्मकाटामा रहेक अभरलोड रहेको गाडी संग जरिवाना नतिराई पैसा असुल्ने गरेको पनि खुलेको छ ।

असई थापा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख मदन थापाका बिस्वास पात्रका रुपमा चिनिन्छ । मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था हुनुका साथै यातायात कार्यालयबाट १ टन बराबर १०००/- रुपैयाकाे पटके कटाउने सुबिधा रहेकाे छ । सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अनाधिकृत रूपमा रकम असुल्ने गरेका छन् ।

यति सम्म कि जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमै कार्यरत रोशन तिवारीले छिमेकी देश भारत बाट आएका पर्यटकिय बस चालक संग आवश्यक कागजपत्र सबै भएपनी पैसाका लागि उनिहरुलाई घण्टौ सम्म रोकिने गरेको चालक अनिल भर्द्वाजले बताए । व्यापक असुलि गरेको गुनासो बढेपछि सरकारले विद्युतिय भुक्तानी प्रणालि लागु गरे पनि सर्लाही ट्राफिक प्रहरीको असुलि धन्दा अझै रोकिन नसकेका हुन् । पूर्व पश्चिम राजमार्गमा चल्ने हल्का यात्रुवाहक सवारी साधान (म्याजिक, विङ्गर), बजार क्षेत्रबाट गाउँ पुर्याउने तीन पाङ्ग्रे सवारी साधान, ओभरलोड बोक्ने ट्रक–टिफर, ट्याक्टरहरुसँग मासिक असुलि गर्ने प्रकृया अझै नरोकिएको व्यसायीहरु बताउँछन् ।

म्याजिक र विङ्गरहरुले क्षमताभन्दा बढी बोक्न पाउने सुविधा बापत व्यवसायी संघबाटै प्रत्येक महिनामा एक मूष्ट रकम जाने गरेको नाम नबताउने सर्तमा एक सवारी संघका पदाधिकारीले बताए। उनले भने, ‘यसरी नै चल्दै आएको छ। दक्षिण नटक्र्याए विभिन्न बाहानामा दुख दिने गर्छ। त्यसैले पनि सवैबाट थोरै थोरै उठाएर हामीले ट्राफिकलाई दिने गरेका छौं ।’ यो प्रकृया जिल्लाका सवै ट्राफिक पोष्टमा त जान्छ नै सर्लाही देखि लहान सम्मका ट्राफिक मिलाउनु पर्ने बाध्यता रहेको उनले बताए । दिनभरी गाडी चलाएर ड्राईभर, खलासी, तेलको लागत कट्टा गरी मुस्किलले हजार १५ सय हात पर्ने गरेको बागमती बाट लालबन्दी सम्म चल्ने एक म्याजिक व्यवसायीले बताए।

उनले भने, ‘दिनभर सडकमा गाडी कुदेर घर फर्कदाँ आफ्नो हातमा पर्ने रकमको टुङ्गो हुँदैन तर, संगठनमा रकम बुझाउनै पर्छ ।’ त्यसैगरी, ओभरलोड गरेर सिरहाक्षेत्रमा हिड्ने प्रत्येक ट्रकले मासिक एक देखि दुई हजार, ट्याक्टले एक हजार देखि १५ सय सम्म बुझाउनु पर्ने बाध्यता नै रहेको व्यसायीहरु गुनासो गर्छन् । व्यवसायीहरु बताउँछन, ‘थोरै लोड गरे पनि पोसाउँदैन, ओभरलोड गर्दा अलिकति फाईदा हुन्छ की भन्ने हो । त्यो पनि बाटोको ट्राफिक नमिलाई हुन्न् ।’ आर्थिक मन्दिका कारण मुस्किलले उद्योग चलाईरहेका सर्लाहीका इँटा व्यसायीहरु ट्राफिक प्रहरीको असुलि धन्दाको मारमा परेको बताउँछन् ।

उनीहरुले आफ्नो इँटा पुग्ने रुटमा सिजनको बेला प्रत्येक महिना १५ सयदेखि तीन हजार एउटा ट्राफिक विटमा बुझाउनु परेको गुनासो गर्छन् । ‘थोरै इँटा लग्दा पोस आउँदैन, ड्राईभर तिनै पर्यो, तेल खर्च भईनै हाल्छ । अलिकति बढी लोढ गर्यो ट्राफिक मनाउनै पर्यो जताबाट पनि व्यवसायी नै मारमा पर्छन्,’ इँटा व्यसायी बिरेन्द्र महतोले भने, ‘यस्तै हो सवैले चल्नै पर्यो मिलाएर काम गर्नै पर्छ । काम गर्ने भए पछि कतिसँग नियम कानुनको कुरा गर्दै हिड्ने ।’ सर्लाहीमा १०० भन्दा बढी इँटा उद्योगको करिव पाँच सय ५० वटा भन्दा बढी ट्याक्टर नियमित चल्ने गरेको छ । त्यतिकै संख्यामा सीमेन्ट उद्योगमा चल्ने ट्रक, टिफर छन् । साना सबारीको संख्या भने हजारको आसपासमा रहेको व्यसायीहरु बताउँछन्।

क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँ जरीवाना तिराउन सक्छ । जरीवाना गरेर बढी भार मिलान गरेपछि मात्र जान दिनुपर्नेमा अनाधिकृत रकम लिएर छाड्ने गरेको भेटिएको छ । सर्लाही भन्सार कार्यालय मलङ्वा कार्यालय बाट सामान लिएर छुटेका बिशेष गरी भारतीय मालवाहक ट्रक तथा लहरीहरुसँग ट्राफिक प्रहरीले सामान र भार हेरेर एक सय देखि १५ सय रुपैयाँसम्म असुल्ने गरेको भेटिएको छ ।

त्यसैगरी ट्राफिक प्रहरीसँग समन्वय गरि सवारी छुटाउने दलालहरुले पनि प्रती गाडी १ हजार देखि १५ सयसम्म लिई ट्राफिक र दलालहरुले भागबण्डा मिलाउने गरेको पनि खुलेको छ । दलालहरुबाट समन्वय गरेका गाडीहरुलाई भने ट्राफिक प्रहरीले बिना चेक जाँच काउन्ट गरेर पठाउने गरेको चोकमा बस्ने जो कोहीले पनि देख्न सक्छ । तर एजेन्ट दलालहरुको चपेटामा नपरेका र आफू खुसी आउने गाडीको चालकहरुलाई भने ट्राफिक प्रहरीले दुख दिने गरेका एक चालकले नाम उल्लेख नगर्ने सर्तमा बताउने गरेका छन् । जिल्लाका ट्राफिक प्रहरी प्रमुख मदन थापा संग थप कुरा गर्न खोज्दा सम्पर्क हुनसकेन ।

सम्बन्धित समाचार