आए हाय ओए होए, बदो बदी बदो बदी

२०८१ जेष्ठ ३०, बुधबार ०४:५१

तपाईं इन्स्टाग्राममा सक्रिय हुनुहुन्छ भने हालसालै आएको ‘बदो बदी’ बोलको रोचक ‘गीत’ पक्कै सुन्नुभएको छ । पाकिस्तानी मूलका ५९ वर्षे चाहत फतेह अली खान उर्फ काशिफ राणाले गाएको यो गीतले इन्स्टाग्राम रिल्समा भाइरल भएकै कारण युट्युबमा २ करोड ८० लाख भ्युज नघाएको थियो । संगीतलाई माया गर्नेहरू सुर न तालको यो गीत सुनेर आक्रोशित भएका थिए भने रमाइलो गर्नेहरूले मज्जा लुटे । नेपालका इन्स्टाग्राम प्रयोगकर्तामाझ पनि चाहत फतेहलाई यही गीतले चिनायो । यो गीतको यति लाइनचाहिँ इन्स्टाग्राममा भाइरल बनेको थियो- आए हाय ओए होए, बदो बदी बदो बदी ।

‘बदो बदी’ले इन्स्टामा अहिले पनि मान्छेका ‘कानबाट रगत’ निकालिरहेको छ । झण्डै ४ लाख त इन्स्टाग्राम रिल्स नै बनिसकेको छ । रोचक त के भने, यसमा न सुर छ, न ताल छ । नेपाली इन्स्टाग्राम प्रयोगकर्तामध्ये कतिपयले भन्थे, ‘गोठालो जाँदा अल्छी मेटाउन गाएजस्तो ।’ नवभारत टाइम्सको रिपोर्टअनुसार, ‘बदो बदी’को ठ्याक्कै अर्थ केही पनि छैन । तर, सोसल मिडियामा मानिसहरूले यसको अर्थ ‘जबर्जस्ती’ ‘धेरै ठूलो’ ‘बिस्तारैबिस्तारै’ भनिरहेका छन् । यसैबीच ३ करोड भ्युजको आँकडा छुनै लागेको अवस्थामा युट्युबले गीत डिलिट गरिदियो । युट्युबको निर्णय चाहत फतेहका लागि ‘वज्र’ सरह थियो ।

सहन नसकेर उनी रुँदै गरेको अर्को भिडियो पनि सोसल मिडियामा भाइरल छ । हुन पनि २८ मिलियन भ्युज पाइसकेको भिडियो कहिल्यै फिर्ता नहुने गरी हटाइनु जोकसैका लागि सुखद पक्कै हुँदैन । ‘बदो बदी’ बोलको गीतलाई खासमा युट्युबले प्रतिलिपि अधिकार उल्लंघन गरेकोमा कारबाही गरेको हो । युट्युबमा कन्टेन्ट क्रियट गर्नेहरूका लागि पनि यो एक पाठ हुन सक्छ । किनकि, कुनै पनि कन्टेन्ट पोस्ट गर्नुअघि युट्युबका नियमहरू जान्न आवश्यक हुन्छ । अन्यथा जुनसुकै बेला चाहत फतेहलाई जस्तै आपत आइपर्न सक्छ । ‘बदो बदी’ म्युजिक भिडियो डिलिट हुनुमा चाहत फतेहको पनि कमजोरी देखिन्छ ।

कतिपयले यसलाई ‘बदमासी’ नै भनेका छन् । करिब ४५ वर्ष पुरानो पाकिस्तानी गीतको शब्द र संगीतलाई उनले बिगारेर प्रस्तुत मात्र गरेनन्, वास्तविक सर्जकलाई क्रेडिटसमेत दिएनन् । ‘बदो बदी’ १९७० को दशकमा आएको फिल्म ‘बनारसी ठग’ फिल्मका लागि नूर जहाँले गाएको गीत भएको पाकिस्तानी मिडियाले लेखेका छन् । तर, धेरैका लागि चाहत फतेहले गाएकै गीत नौलो थियो । किनकि, यो धेरै पुरानो गीत थियो । पुरानो गीतको अन्तराबाट चाहत फतेहले ‘बदो बदी’ बनाएका हुन् । गीत हिट भएपछि वास्तविक गीतका सर्जकले कपिराइट स्ट्राइक दिएका थिए ।

त्यसैका आधारमा युट्युबले चाहत फतेहको स्वरमा रहेको गीत उडाइदिएको हो । चाहत फतेह अली खानले आफ्नो नाम पनि पाकिस्तानी पार्श्वगायक राहत फतेह अली खानको भन्दा केवल एक अक्षर फरक पारेर राखेका छन् । आफ्नो वास्तविक नाम काशिफ राणा भए पनि धेरै साथीले चाहने भएकाले उनीहरूले नै नाम ‘चाहत’ राखिदिएको र पछाडिको फतेह अली खान आफूले जोडेको उनले बताउने गरेका छन् । उनी करिब ८ वर्षअघि कलाक्षेत्रमा लागेका हुन् । इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार, गत अप्रिलमा उनले युट्युबमा रिलिज गरेको ‘बदो बदी’ म्युजिक भिडियोलाई युट्युबले ६ जूनमा डिलिट गरिदिएको हो ।

को हुन् चाहत फतेह अली खान ?

सन् १९६५ मा पाकिस्तानको शेखपुरमा जन्मेका चाहत स्थानीय सरकारी विद्यालयमा पढे । पाकिस्तानको गभर्नमेन्ट कलेज युनिभर्सिटी (जीसीयूएल)बाट स्नातक गरेका उनी लाहौरस्थित पञ्जाब विश्वविद्यालयमा भर्ना भए र पछि लन्डन गए । उनी पूर्वक्रिकेटर पनि हुन् । उनले सन् १९८३-८४ मा लाहौरको कायद-अजम उपाधिका लागि १६ रन बनाएका थिए । पाकिस्तान र भारतमा उनी कोरोना महामारीका बेला चर्चित भएका थिए ।

त्यो बेला उनले ‘प्यारा पीएसएल’, ‘लोटा लोटा’, ‘गोल कटारा’, ‘तु चोर चोर चोर’ गीत गाएका थिए । यसपछि उनलाई धेरै टक शोहरूमा बोलाइयो । कतिपय अवार्ड कार्यक्रममा उनले प्रस्तुति दिए । एक अन्तर्वार्तामा उनले आफूलाई लाइभ शोका क्रममा २८ प्रेम प्रस्ताव आइसकेको बताएका थिए । यद्यपि, आफू विवाहित भएकाले कसैको प्रस्ताव स्वीकार नगरेको उनको दाबी छ ।

उनी आफूलाई गायक, संगीतकार, कलाकार, निर्देशक भएको दाबी गर्छन् । सारमा आफूलाई एक ‘मनोरञ्जक’ व्यक्तिका रूपमा चिनाउँछन् । दुई वर्षयता उनले युट्युबमा ३३ म्युजिक भिडियो ल्याएका छन्, जसमा १४ हिट भएको चाहत बताउँछन् । उनको ‘पोउपोउपोउ’ बोलको गीत पनि चर्चित छ ।

ट्रोल र मिम

गीतहरू सुर न तालको भएकैले उनका ट्रोल र मिमहरू थुप्रै बनेका छन् । कतिसम्म भने उनीसँग जोडिन आइपुग्ने कलाकारसमेत ट्रोलको सिकार हुने गरेका छन् । एक ट्रोलमा उनलाई मस्जिदमा वर माग्दै गरेको देखाइएको छ, जहाँ उनी भन्छन्- हे खुदा, जति पनि मानिस मेरो गीत सुनेर मरे, अर्को जुनीमा उनीहरूलाई मेरो गीत सुन्न सक्ने शक्ति दिएर पठाइदेऊ ।’

‘बदो बदी’ म्युजिक भिडियोमा चाहतसँग फिचर भएकी वाजधान राओ रंघर पनि एक अन्तर्वार्तामा रुँदै थिइन् । आफूलाई भ्लगर बताउने ३७ वर्षीया वाजधान चाहतकी फेसबुक फ्रेन्ड हुन् । ‘बदो बदी’ भाइरल भएपछि उनको खुब ट्रोल भयो, मिमहरू बने । यो देखेर उनी तनावमा परिन् । तर, उनले चाहत फतेहसँग काम गरेको पहिलोपल्ट भने होइन । यसअघि केही गीतमा पनि उनले चाहतसँग काम गरेकी थिइन् ।

ट्रोल जति नै भए पनि आफ्नो भिडियोमा खेलेकै कारण उनले विज्ञापनलगायतमा काम पाइरहेको चाहतले बताएका छन् । तर वाजधन स्वयम्‌ले भने एक अन्तर्वार्तामा यो गीतमा काम गरेपछि आफ्नो करिअर बर्बाद भएको बताएकी छन् । जसले पनि उनलाई त्यस्तो गीतमा काम गर्न किन राजी भएकी भनेर प्रश्न गर्ने गरेका छन् । उनले भनेकी छन्, ‘मसँग इदका लागि कपडा किन्नसमेत पैसा थिएन । चोरी गर्नभन्दा राम्रो काम गर्छु भन्ने ठानेँ र गरेँ ।’

‘यतिविघ्न ट्रोल, आलोचना, खिसी टिउरी हुँदा पनि तपाईंलाई केही महसुस हुँदैन ?’ एक पोडकास्टमा यस्तो प्रश्न सोध्दा चाहतले भनेका छन्, ‘म कसैका बारेमा नराम्रो सोच्दिनँ, कसैलाई नराम्रो पनि भन्दिनँ । काम गर्छु आफ्नै तरिकाले, आफ्नै शैलीले । अरुको नक्कल गर्दिनँ, जे हो त्यो देखाउँछु, गाउँछु ।’

अरु त त्यस्तै हो, उनले ‘नक्कल गर्दिनँ भनेको केही सातामै युट्युबले कपिराइट कारबाही गरी २८ मिलियन भ्युज आइसकेको भिडियो डिलिट गरिदियो । यसलाई लिएर पनि उनी ट्रोल भइरहेका छन् ।

कला र गलाकै कारण चर्चित हुन कतिपयले अथक मिहिनेत, साधना गर्ने गरेका छन् । तैपनि यसका लागि थुप्रो समय लाग्छ । तर, सोसल मिडियाले कला र गलाबिनै पनि कतिपयलाई रातारात भाइरल बनाइदिन्छ । चाहत फतेह अली खान यस्तै पात्र हुन्, जसलाई एक मनोरञ्जकका रूपमा अडियन्सले मन पराएको मान्न सकिन्छ । तर, उनले आफूलाई गायक, संगीतकार भनेको भने धेरैलाई मन परेको छैन । – एजेन्सीको सहयोगमा 

सम्बन्धित समाचार