काठमाडौँ – युक्रेनले रुसको सम्पत्तिमध्ये ५० अर्ब अमेरिकी डलर ऋण पाउने भएको छ । उक्त रकम युक्रेनले रुसविरुद्धको युद्धमा खर्च गर्ने भएको छ । बीबीसीका अनुसार जी ७ राष्ट्रहरूले युक्रेनलाई ५० अर्ब डलर ऋण दिन रुसको जफत गरिएको सम्पत्ति प्रयोग गर्ने सहमति बनाएका छन् । यो सहमतिसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूहरू पछि नहटेको र यो रुसका लागि चेतावनी भएको प्रतिक्रिया दिएका छन् ।
जी ७ राष्ट्रहरूले जुटाएको यो सहमतिलाई लिएर रुसले कडा प्रतिक्रिया दिएको छ । रुसले यो डिललाई लिएर भनेको छ यसको परिणाम दर्दनाक हुनेछ । यद्यपि यो रकम यो वर्षको अन्त्यसम्ममा आउने सम्भावना नरहेको बताइएको छ । तर, युक्रेनलाई युद्धको तयारी गर्नका साथसाथै आफ्नो अर्थव्यवस्थालाई सहयोग पुर्याउन यो दीर्घकालिक समाधानको रूपमा हेरिएको छ ।
इटलीमा जारी जी ७ को शिखर सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति बाइडेनले दुई देशबीच १० वर्षका लागि द्वीपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर पनि गरेका छन् । यो सम्झौतालाई उनीहरूले ऐतिहासिक भएको उल्लेख गरेका छन् । रुसले युक्रेनमा आक्रमण गरेपछि युरोपेली संघका साथसाथै जी ७ राष्ट्रमा रहेको लगभग ३२५ अर्ब डलरबराबरको रुसी सम्पत्ति फ्रिज गरिएको थियो ।
यो सम्पत्तिले प्रतिवर्ष ३ अर्ब डलर ब्याज आम्दानी गरिरहेको छ । जी ७ को योजनाअनुसार युक्रेनले अन्तर्राष्ट्रियस्तरमा लिएको ५० अर्ब डलर ऋणको वार्षिक रूपमा ब्याज तिर्नका लागि यो ५० अर्ब डलरको प्रयोग गरिने बताइएको छ । युक्रेनी राष्ट्रपतिले अमेरिकासहित आफ्ना सहयोगी राष्ट्रहरूलाई उनीहरूको समर्थनका लागि धन्यवाद दिएका छन् । जी ७ का राष्ट्रहरू अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायतले युक्रेनलाई वित्तीय र सैन्य समर्थन गर्दै आइरहेका छन् ।