सर्लाही – भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका र नेपालमा सहकारीको रकम लुटपाट गरेका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना घोडासहन ग्रामपञ्चायत बसवरिया-२ का २० वर्षीय मोनुकुमार जैसवाल रहेका छन्।
जैसवाललाई रौतहट प्रहरीले आईतबार जिल्लाको मौलापुर ७ बाट घरेलु कटुवा पेस्तोल १ थान, गोली राउन्ड २ थानसहित पक्राउ गरेको हो। गत जेठ २२ गते बिहान माँ बचत तथा ऋण सहकारी संस्थामा काम गर्ने बौधिमाई-८ का २४ वर्षीय अरविन्द कुमार दासले १७ लाख झोलामा राखेर राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न मोटरसाइकलमा चढी मौलापुरतर्फ जाने क्रममा विपरीत दिशाबाट आएका उनिसहित ३ जनाको समूहले उक्त रकम लुटपाट गर्ने उद्देश्यले दासलाई पछाडिबाट गोली हानेर फरार भएका थिए ।
प्रहरीले अनुसन्धानको क्रममा घटनामा संलग्न अभियुक्तहरू सीमावर्ती भारत बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण घोडाहसनमा सक्रिय रहेको बाबा ग्याङ नामको आपराधिक समूहमा आबद्ध रहेको व्यक्तिहरूसँग साँठगाठ रहेको निष्कर्ष निकालेको थियो। उनीहरू भारत र नेपालको सीमावर्ती इलाकामा लुटपाट, भारतीय सामानको तस्करीमा सक्रिय रहेको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। आरोपी जायसवाल भारतीय प्रहरीको समेत मोस्ट वान्टेडको सूचीमा रहेका छन्। उनीमाथि घोडासहन र झरौखर थानामा एक दर्जन भन्दा बढी आपराधिक मुद्दाहरू दर्ता रहेको बुझिएको छ ।