भारतको पाठ्यपुस्तकमा बौद्ध धर्मलाई जातिवादी उल्लेख गरिएपछि चर्को विवाद

२०८१ असार ९, आईतवार ०४:४५

गुजरात – भारतको गुजरातमा कक्षा १२ को समाजशास्त्रको पाठ्यपुस्तकमा बौद्ध धर्मबारे लेखिएको एउटा पाठलाई लिएर विवाद उत्पन्न भएको छ । सो पाठमा ‘बौद्ध धर्मका दुई स्तर छन्, बौद्धको उच्च श्रेणीमा ब्राह्मण, क्षत्रीय र केही गृहस्थ श्रेणीका मानिस छन्, तल्लो श्रेणीमा बौद्ध धर्म अपनाउने आदिवासी र उपेक्षित मानिसको समूह छ’ भन्ने उल्लेख गरिएको विषयलाई बौद्धमार्गीले आपत्ति जनाएका हुन् ।

बौद्ध धर्म जातिमुक्त भएको भन्दै उनीहरूले सो पाठले जातिलाई बढावा दिएको जनाएका छन् । बौद्ध धर्म एकेडेमीका सचिव रमेश बैंकरले बौद्ध धर्ममा कुनै उच वा नीचको व्यवस्था नभएको जनाएका छन् । गुजरातको लोकसेवा आयोगका पूर्वसदस्य मूलचन्द्र राणाले पनि बौद्ध धर्म सामाजिक बन्धनबाट पर रहेको बताएका छन् । सोही पाठमा बौद्ध धर्मका पुजारीलाई लामा भनिने समेत उल्लेख गरिएको जनाउँदै राणाले केबल तिब्बती क्षेत्रमा नै बौद्ध पुजारीलाई लामा भनिने गरेको जनाएका छन् । अन्यत्र पुजारी भिक्षु हुने बौद्धमार्गीको भनाइ छ । राणाले पुस्तकमा बौद्ध धर्मले पुनर्जन्ममा विश्वास गर्ने भनिएकोमा त्यो पनि गलत भएको उल्लेख गरेका छन् ।

पुस्तकमा गलत विवरण आएको बारेमा गुजरात राज्य पाठ्यपुस्तक बोर्डका निर्देशक बीआर गोसाईले गल्ती स्वीकार गर्दै पछिल्लो पाठ्यपुस्तक २०१७ मा छापिएको र आफूहरूलाई बौद्ध धर्मसम्बन्धी विवरण गलत परेको भन्ने बारेमा पहिलोपटक प्रतिवेदन मिलेको जनाएका छन् । हालको पाठ्यपुस्तकमा २००५ मा छापिएको कुरा जस्ताको त्यस्तै छापिएको समेत उनले जनाएका छन् । उनले प्रमाणको जाँच गरी पुस्तक पुनः प्रकाशित गरिने बताएका छन् । बौद्ध धर्मावलम्बीहरूले सो पुस्तकमा छापिएको सामग्रीबारे कडा आपत्ति जनाउँदै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र राज्यपाल देवव्रत अयारीको पनि ध्यानाकर्षण गराएका थिए । – बीबीसी

सम्बन्धित समाचार