गोडैता – सर्लाहीको पश्चिमी भेगस्थित गोडैता नगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि करिब ६८ करोड २ लाख १४ हजारको बजेट ल्याएको छ ।
सोमबार नगरपालिकाको कार्यालयमा आयोजित ९ औं नगर सभामार्फत नगर प्रमुख देबेन्द्र कुमार यादवले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि करिब ६८ करोड २ लाख १४ हजारको बजेट प्रस्तुत गर्नु भएको हो।

नगर सभामा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा चालू खर्चतर्फ रु. ४० करोड २० लाख राखिएको छ, भने पुँजीगत खर्चतर्फ रु. २७ करोड ८२ लाख १४ हजार रकम विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्षका लागि नगरपालिकाले खर्च व्यहोर्ने श्रोतहरूमध्ये संघीय सरकारको अनुदानबाट रु. ५१ करोड ५० लाख, प्रदेश सरकारको अनुदानबाट रु. २ करोड ४१ लाख १४ हजार र आन्तरिक आम्दानीबाट रु. १४ करोड ११ लाख खर्च व्यहोर्ने गरी बजेट व्यवस्थापन गरिएको नगर प्रमुख यादवले बताउनु भयो।
नगर सभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादव, नगर प्रमुख देबेन्द्र कुमार यादव, उपप्रमुख अञ्जना कुशवाहा, जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिङ, नगरपालिका भित्रका १२ वटै वडाका वडा अध्यक्ष, नगरपालिकाका सम्पूर्ण कर्मचारीलगायत जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो।





