सर्लाही – माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएकामध्ये सर्लाहीका ६ जनासहित १३ जिल्लाका २२० जना परीक्षार्थीको परीक्षा रद्द भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार दैलेखका १, काभ्रेका २, जाजरकोटका ३, इलामका २, बझाङका २ र बाराका २ विद्यार्थीको परीक्षा रद्द भएको छ। यसैगरी रौतहटका १, महोत्तरीका ३९, खोटाङका ३, धनुषाका ४, सर्लाहीका ६, सप्तरीका १५४ र भोजपुरका १ परीक्षार्थीको परीक्षाफल रद्द गरिएको हो।
विषयगत आधारमा अङ्ग्रेजीको १, गणितको ६७, नेपालीको ४, विज्ञानको १४, सामाजिकको ५, ऐच्छिक गणितको ७१, अर्थशास्त्रको १३, जनसङ्ख्याको ७, वातावरण विज्ञानको २, स्वास्थ्य शारीरिकको ३, प्राविधिक विषयको ७ र सबै विषयको २६ जनाको परीक्षा रद्द भएको बोर्डले जनाएको छ।
मौका परीक्षा साउन १८ र १९ गते
माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षाको मिति तय गरेको छ। २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
बोर्डका अनुसार यस वर्षको एसईईमा ४७.८६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। बोर्डका अधिकारीका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन्।
सम्बन्धित खबर :