गोडैता – राष्ट्रिय धान दिवस सर्लाहीको गोडैता नगरपालिकामा पनि मनाईएको छ। धान दिवसको उपलक्ष्यमा आज नगरपालिकाको कृषि शाखाले एक कार्यक्रमको आयोजना गरेर दिवस मनाएको हो।
दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले कृषि प्रधान देश भएर पनि आत्मा निर्भर हुन् नसक्दा अहिले पनि चामल बाहिरबाट आयात गर्नु पर्ने अवस्था रहेको, सरकारका कारण समयमै किसानले मल पाउन नसकेको, किसानलाई अन्यदेशमा जस्तो सम्मान पनि गर्ने नगरेको बताए।
धान दिवस मनाउँदै गर्दा पनि आफ्नो नगरभित्र धान रोपाई गर्न मलको अपुग रहेको र सरकारलाई मल उपलब्ध गराउँन आग्रह समेत गरे, उनले भने – ‘आफ्नो नगरपालिका भित्र रहेका वडाहरुका लागि एक वडालाई ८० बोरा डिएपी आएको र यो मलले यहाँ धान रोपाई सम्भव छैन, यहि कारण सरकारसंग म माग गर्दछु गोडैताको कोठाको जो डिएपी छ अभिलम्ब सहकारी मार्फत जति कोठा छ त्यहाँबाट जारि गरे धान रोपाई गर्न सहज हुन्छ। ‘
नगरप्रमुख यादवसहित कार्यक्रममा उपस्थित भएकाहरुद्वारा सयुक्त रुपमा धान रोपिएको थियो। कार्यक्रममा नगरप्रमुख देबेन्द्र यादव, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादव, नगरपालिकाका उपप्रमुख अञ्जना कुशवाहा, नगरपालिकाका कर्मचारीहरु, नगरपालिका भित्रका केहि वडा अध्यक्षहरु, बिद्यार्थी, स्थानियलगायतको सहभागिता रहेको थियो।