सर्लाही – नेपाली कांग्रेससहित विपक्षी चार दलले अगामी आर्थिक वर्षको बजेटमा त्रुटि भएको भन्दै तीनबुँदे मागसहित मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहलाई ध्यानाकर्षणपत्र बुझाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र राप्रपाले आइतबार लिखित रुपमै मुख्यमन्त्री सिंहसमक्ष आफ्ना माग राखेका हुन् ।
अगामी आर्थिक वर्ष २०८१÷ ०८२ को लागि १ असारमा प्रदेश सरकारले ल्याएको बजेटमा त्रुटि भएको उनीहरूको आरोप छ । सरकारी संयन्त्रभन्दा बाहिरबाट बजेट प्रविष्ट भएको विषयमा सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन हुनुपर्ने, बजेट पुनर्लेखन गरी प्रदेशसभामा छलफल हुनुपर्ने र बजेट पुनर्लेखन गर्दा सबै संसदीय क्षेत्रमा सन्तुलित बजेट कायम हुनुपर्ने माग उनीहरूको छ ।
‘पिएलएमबिआइएस ह्याकरहरूबाट ह्याकगरी बजेट प्रविष्ट गरिएको भन्ने विषयमा स्वयम् मुख्यमन्त्री र मन्त्रीहरूले स्वीकारेको अवस्थामा त्यसलाई सच्चाउनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोज कुमार यादव, लोसपा नेपालकी प्रमुख सचेतक रानी कुमारी तिवारी र राप्रपा नेपाल संसदीय दलकी नेता कञ्चन विच्छाले संयुक्त रुपमा मुख्यमन्त्री सिंहलाई भेटेर ध्यानाकर्षणपत्र बुझाएका हुन् । – from shilapatra