सर्लाही – यो वर्षको मनसुनी सिजनमा आजबाट अति भारी वर्षा सुरु भएको छ । यो वर्ष मनसुन सुरु भएपछि अति भारी वर्षा सुरु भएको आज पहिलो दिन हो । यसअघि शुक्रबारसम्म धेरै भारी वर्षा मात्र भएको थियो ।
“यो वर्ष आजबाट अति भारी वर्षा सुरु भएको हो । हामीले विशेष बुलेटिनमा उल्लेख गरेका थियौँ,” मौसमविद् प्रतिभा मानन्धरले भनिन्, “तर दैनिक बुलेटिनमा अति भारी वर्षाको पूर्वानुमान आज पहिलो पटक हो ।”
२४ घण्टामा २०० मिलिमिटरभन्दा माथि वर्षा भयो भने अति भारी वर्षा हुने मौसमविद् मानन्धरको भनाइ छ । उनका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।
सातवटै प्रदेशमा वर्षा हुने, पाँचवटामा अति भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ । जसका कारण देशका धेरै स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर साधारणदेखि पूर्णतया बदली छ ।
वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागले दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने बताएको छ ।
सबै प्रदेशका धेरै स्थानका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । विभागका अनुसार राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ ।
कोसी र मधेस प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशका एक–ुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ ।