आज दिनभर : अविरल वर्षाका कारण बिभिन्न जिल्लामा ४ को मृत्यु, ९ जना बेपत्ता

२०८१ असार २२, शनिबार १४:२६

सर्लाही – शनिबार दिनभरको अविरल बर्षाका कारण देशका विभिन्न जिल्लामा ठुलो मानवीय तथा धनजनको क्षेती भएको छ। देशका बिभिन्न जिल्लामा वर्षाका कारण आएको बाढी र पहिरोमा परि हालसम्म ४ जनाको मृत्यु भएको र ९ जना बेपत्ता हुनुका साथै अन्य ३ जना घाईते भएका छन्।

काठमाडौँको नागार्जुन नगरपालिका ३ स्थित ट्रिपिकल रेस्टुरेन्टको किचेन कोठमा माथिबाट पहिरो आई पुरिँदा वर्ष २२ का मनोज वि.क. रहेका छन्। बि.क. पहिरोमा पुरिएर घाइते भएका थिए उनलाई उपचारका क्रममा मनमोहन अस्पतालमा लागेको र सोहि अस्पतालमा उपचारका क्रममा शनिबार उनको मृत्यु भएको हो।

यस्तै यता स्याङ्जामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको बिरुवा गाउँपालिका – ६ माझकोटकी ६५ वर्षीया गुहेश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्मा रहेको स्याङ्जा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिरुवा गाउँपालिका वडा ६ लामाखेतका ईश्वरी लम्सालको घर पहिरोले पुरेको हो । सोहि पहिरोमा पुरिएर माझकोटकै ७१ वर्षीय माधव शर्मा बेपत्ता छन्।

यता तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा माथिबाट खसेको ढुंगा लागेर एक जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–१ मालिङ्गाका ५० वर्षीय कृष्णबहादुर पुलामी रहेका छन्। ढुङ्गा खस्दा टाउको र पेटमा चोट लागी घाइते भएका उनको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यता पर्वतमा पनि पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन्। जिल्लाको फलेवास नगरपालिका १ कार्कीनेटामा पहिरो जाँदा स्थानीय ४० वर्षका झलकप्रसाद शर्मा र आँधिखोला गाउँपालिका ३ का ३३ वर्षीय तुलसी प्रसाद शर्मा बेपत्ता भएका छन्। स्थानीय कुलप्रसाद पाध्याको गोठमा पहिरो झरेको र पहिरोमा भैँसीबाख्रा पुरिएका कारण भैँसीबाख्राको उद्वार गर्न गएका उनीहरु पहिरोमा बेपत्ता भएका हुन्।

यता दोलखाको गौरीशंकर गाउँपालिका ९ मा बाढीले बर्ष ६३ की जाङ्मु शेर्पालाई वेपत्ता बनाएको छ । प्रहरीका अनुसार गौरीशंकर हिमालको फेदबाट हिमपहिरो आई छोम्मु गोल्जु खोला थुनिएको र रोल्वालिङ खोलामा मिसिएर पानीको बहाव बढेर बाढी आउँदा होटलको सामान सार्ने क्रममा शेर्पा बेपत्ता भएकी हुन । सोही स्थानमा बाढीले ३ वटा घर समेत बगाएको छ ।

यस्तै यता दाङको राजपुर गाउँपालिका २ का राजकुमार यादवलाई राप्ती नदी पार गर्ने क्रममा नदीले बगाई बेपत्ता भएका छन् । गुल्मीको रुरु क्षेत्र गाउँपालिका ३ मा पहिरोले घर पुर्दा वर्ष ४५ की रुपा टमटा घाइते भएकी गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

सप्तकोसीमा जलसतह यो वर्षकै उच्च

सप्तकोसी नदीको जलसतह आज यस वर्षकै सबैभन्दा उच्च भएको छ । दिउँसो ३ बजे कोसी ब्यारेजमा दुई लाख ७२ हजार ४८५ क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ ।

अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३४ वटा ढोका खोलिएका छन् । आज बिहान ४ बजे एक लाख २४ हजार चार सय ६५ क्युसेक प्रतिसेकेन्ड जलसतह मापन गरिएको केन्द्रका कर्मचारी अमित यादवले बताए ।

उनले भने ‘पहाडी क्षेत्रमा हिजोदेखि निरन्तर वर्षा भएसँगै कोसी नदीमा जलसतह उच्च भएको हो । जलसतह उच्च भए पनि हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति भएको छैन ।’ (रासस)

पहिरोको जोखिम भएका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न गृहमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

गृहमन्त्रालयमा भएको आपत्कालीन बैठकमा उनले विपद्का घटनालाई तुरुन्त सम्बोधन गर्न र सतर्कताका राज्यको जिम्मेवारी पूरा गर्न सम्बन्धित उच्चाधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । बैठकमा सुरक्षा निकायले हालसम्मको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए । उपप्रधानमन्त्री लामिछानेले ‘कमाण्ड पोष्ट’ र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई विपद्बाट जनधनको क्षति हुन नदिन र खाद्यान्न, लत्ताकपडालगायत सामग्रीको अभाव हुन नदिन आग्रह गरे ।

“हामीले सिंहदरबारमा बसेर क्षतिको विवरणबारे आमनागरिकलाई सूचना दिएर हाम्रो दायित्व पूरा हुँदैन । क्षति कम गर्न र उद्धारलगायत काममा हामीले कसरी काम गरेका छौँ भन्ने विषय महत्वपूर्ण हुन्छ”, गृहमन्त्री लामिछानेले भने, “हामीले बनाएका विपद् पूर्वतयारी योजना, निर्देशिका र कार्यविधिका कागजलाई व्यवहारमा उतार्ने समय आएको छ । हामीले हरेक व्यक्तिको ज्यान जाँदाको राज्यको एक सदस्य गुमाउनुपरेको अनुभूति लिएर काम गर्नुपर्ने हुन्छ ।”

उनले पूर्वतयारीको योजनालाई कार्यान्वयनमा सघाउन राजनीतिक दल, सम्बन्धित निकाय र पक्षलाई आग्रह गरिसकेको जानकारी दिए । बैठकमा गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा नेपाली सेनाका उच्च अधिकारीलगायत उपस्थिति थियो । (रासस)

सम्बन्धित समाचार