सर्लाही – रौतहटमा एक युवकको बिभत्स हत्या गरिएको छ । जिल्लाको ईशनाथ नगरपालिका – ९, लवातना गाउँमा स्थानीय कईममिया मन्सुरीका छोरा १८ बर्षिय सहबाज मिया आलमको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार सहबाजको हत्या आरोपमा चार जनालाई पक्राउ गरिएको छ। पक्राउ परेका उनीहरु चारै जना सहबाजकै साथीहरु रहेको बुझिएको छ। गएराति सोहि नगरपालिकाको वडा नम्बर २ औरेयामा सहबाज मृतक भेटिएका थिए। सहबाजलाई स्थानीयले आँपको बगैँचामा रगताम्मे अवस्थामा भेटेका थिए।
त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरे, स्थानीयको खबर पाएपछि प्रहरी तत्काल घटनास्थलमा पुग्दा सहबाजको मृत्यु भइसकेको थियो। मंगलबार दिउँसो गाउँकै साथीहरुले सहबाजलाई काम छ भन्दै बोलाएर लगेका थिए।
सहबाजको शरीरका बिभिन्न ठाउँमा धारिलो हतियार छुरा प्रहार भएको छ। सहबाजको शव अहिले पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटकि प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।