सर्लाही – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई सहकारी प्रकरणमा दोषी ठहर गरी जेल हाल्न चुनौती दिएका छन् ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै रास्वपाका सभापतिसमेत रहेका उनले आफूमाथि कुनै प्रमाण नभए पनि सहकारी ठगको आरोप लागेको तर बजारमा प्रमाणहरू छ्यालब्याल भएकाहरूलाई आगामी सरकारले कसरी लिन्छ भन्दै प्रश्न गरे।
उनले सहकारी छानबिन समितिमा अब त बहुमत पुग्यो होला भन्दै आफूलाई दोषी ठहर गर्न चुनौती दिए । उनले दोषी भए आफू जेल जान तयार रहेको समेत बताए । उनले आफ्नो कार्यकालमा एक मात्र उद्घाटन बाँकेमा जेलको गरेको भन्दै जेलमा बस्न तयार रहेको बताए।
उनले बेचन झा र प्रतिक थापा पक्राउ परेको २४ घण्टामा सरकार ढाल्ने प्रयास गरिएको भन्दै यी दुई जना पक्राउ परेपछि दुई ठूला पार्टी मिलेको दाबी गरे । यी दुई अभियुक्त नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार थिए । उनीहरू अहिले हिरासतमा छन् ।
लामिछानेले कांग्रेस र एमालेबीच भएको भनिएको सम्झौता सार्वजनिक नगरिएकोमा पनि आपत्ति प्रकट गरे । उनले खल्तीमा हालेको सम्झौतालाई राष्ट्रिय सहमतिको भनिएको भन्दै आपत्ति जनाए । उनले कुनै व्यापारीको घरमा गरिएको सम्झौता कसरी राष्ट्रिय भयो भन्दै प्रश्न गरे।
उनले भने, ‘राष्ट्रिय सहमति भनिएको छ, त्यो पनि एउटा व्यापारीको घरमा गरिएको छ, आजसम्म देश, जनता र आफ्ना दलका नेतालाई समेत थाहा नदिई गरिएको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिँदा राष्ट्रिय शब्दको मानमर्दन भएको छ ।
तर, यो कुनै राष्ट्रिय सहमति हुन सक्दैन । हामीलाई आशंका छ, एकाएक रातारात संविधानको चिन्ता, कसरी भयो ? जब अनुसन्धानको सुई कसैको घरको ढोकामा ढक्कढक्याउन पुग्यो त्यतिखेर तपाईंहरूलाई संविधानको याद आयो रु संविधानमा संशोधन गर्नुपर्ने धेरै कुराहरू छन्।’