त्रिशुली बस दुर्घटना अपडेट : एक पुरुषको शव फेला, पहिचान हुन बाँकी

२०८१ असार २९, शनिबार ११:२६

सर्लाही – शुक्रबार बिहान ३:३० बजे काठमाडौंबाट रौतहटको गौर आउंदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौं जाँदै गरेको एञ्जल बस चितवनस्थित नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाएर त्रिशुलीमा बगाएको थियो, सोहि दुर्घटनामा एक पुरुषको शव फेला परेको छ।

हिजो (शुक्रबार) बिहानै देखि खोजि कार्य जारि भएपनि कुनै अत्तोपत्तो थिएन तर आज (शनिबार) बिहान ११ बजे चितवनको भरतपुर-२८ गोलाघाटस्थित नारायणी नदीमा एक पुरुषको शव फेला परेको हो। शवको पहिचान भने अहिले हुन् नसकेको र त्रिशूलीमा खसेका बसका यात्रुको शव हुन सक्ने पनि अनुमान गरिएको छ ।

त्रिशुलीमा बेपत्ता दुई बस खोज्न वाटर ड्रोनको प्रयोग

शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न मिल्ने ड्रोन क्यामरा प्रयोग गरिएको छ । सशस्त्र प्रहरीका अनुसार बिहानै देखि खोजीमा गोताखोर सहितको टोली परिचालन गरिएको र पानी मुनी हेर्न मिल्ने ड्रोन क्यामरा प्रयोग गरिएको हो ।

टोलीले त्रिशूली नदिमा सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजी कार्य सुरु गरेको प्रहरीले जनाएको छ । र्याफ्टबोटमा जडान गरेर पानी भित्रको बस्तुहरू हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउने जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरूको खोजी कार्यमा परिचालित भएको छ । साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।

सम्बन्धित समाचार