गोडैता – सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा खसेको बस दुर्घटनामा परि ज्यान गुमाउने गाउँपालिका भित्रका मृतकका पिडित परिवारलाई गाउँपालिकाले प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले राहत दिने भएको छ।
गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले आज (शनिबार) फेसबुकमा एक पोस्ट गर्दै उक्त दुर्घटनामा ज्यान गुमाउनेहरु प्रति श्रद्वाञ्जलि व्यक्त गर्दै आफ्नो गाउँपालिका भित्रका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने बताएका हुन् ।
साथै, भोलि ६ गते आईतबार गाउँपालिकामा शोक बिदा दिइएको छ। पालिका भित्रका सम्पूर्ण सरकारी संघसंस्था, बिद्यालय, पालिकाका सम्पूर्ण वडा कार्यालयहरु लगायत गाउँपालिका मातहातका सम्पूर्ण कार्यालय बन्द रहने अध्यक्ष यादवले धड्कन एफ एमलाई जानकारी दिए।
गत असार २८ गते बिहान काठमाडौँबाट गौर आउँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल डिलक्स बस चितवनको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिसुलीमा खसेका थिए । दुई वटा बसमा ६५ जना रात्रु रहेको खुलेको छ।
उक्त दुर्घटनामा परि सर्लाहीका तिन जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा रामनगर गाउँपालिका-३, बहुअर्वाका जितेन्द्र राम, रामा दास र बरहथवा नगरपालिकाका रमितकुमार माझी रहेका छन्। जितेन्द्र राम र रमितकुमार माझीको शव भेटिएको छ। भने रामा दास बेपत्ता छन्।