काठमाडौं – एसीसी महिला एसिया कपको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध नौ विकेटको लज्जास्पद हार व्यहोरेको छ ।
आइतबार श्रीलंकाको दम्बुल्लामा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा ओपनर गुल फिरोजाले अर्धशतक बनाइन् । फिरोजाले ३५ बलमा १० चौकासहित ५७ रन बनाइन् । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा फिरोजाको यो पहिलो अर्धशतक हो ।
मुनिबा अलीले पनि अविजित ४६ रन बनाइन् । यी दुईले पहिलो विकेटका लागि ११.३ ओभरमा १०५ रनको साझेदारी गर्दै पाकिस्तानलाई जित नजिक पुर्याएका थिए । तुवा हसन एक रनमा अविजित रहिन् । पाकिस्तानविरुद्ध फितलो देखिएको नेपाली बलिङ टिमबाट एकमात्र विकेट कविता जोशीले लिइन् ।