सर्लाही – सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ। गएराती रायको घरमै सुतिरहेको अवस्थामा अज्ञात समूहले धारिलो हतियार प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार जिल्लाको चन्द्रनगर गाउँपालिका- १ रतनपुरस्थित घरमै सुतिरहेको अवस्थामा उनको हत्या भएको हो। प्रहरीलाई रातको १ बजे खबर आएको र खबर आउँन बितिक्कै प्रहरी घट्नास्थलमा खटिएको बताईएको छ।
तिन जनाको समूहमा आएको अज्ञात समूहले उनको हत्या गरेको जनाइएको छ । अहिले रायको शव पाेष्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ।
राय वर्तमान मलंगवा नगरपालिकाका प्रमुख नागेन्द्र प्रसाद रायका सहाेदर दाई हुन्। घटना के कारणले घट्यो भन्ने कुरा खुली नसकेको र सोमबार बिहान प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुख पनि घटनास्थल पुगेका छन्। अनुसन्धानका लागि तालिम प्राप्त कुकर पनि परिचालन गरिएको प्रहरीले जनाएको छ।