सर्लाही – सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन् । गत बुधबार काठमाडौंबाट पोखराका लागि उडान भरेको केही सकेन्डमै सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो ।
चालकदलका सदस्यसहित १९ जना विमानमा रहेकोमा १८ जनाको मृत्यु भएको थियो । क्याप्टेन मनीष शाक्य भने घाइते भएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मृतकका आफन्तले १७ वटा शव बुझेका छन् । पाँचवटा शव शुक्रबारै आफन्तले बुझेका थिए भने बाँकी १२ वटा शव शनिबार आफन्तले बुझेका हुन् ।
सो दुर्घटनामा मारिएका एक जना विदेशी (यमनली) नागरिकको शव भने शिक्षण अस्पतालमै राखिएको छ । शवको पोस्टमार्टम बिहीबार सकिएको थियो भने पहिचान शुक्रबार गरिएको थियो । बीमालगायतका विषयमा कुरा नमिलेपछि मृतकका आफन्तले शुक्रबार शव बुझ्न मानेका थिएनन् ।