सिरहामा खानेपानी आयोजना अलपत्र, एक हजार दुई सय घर खानेपानीबाट वञ्चित

२०८१ श्रावण १५, मंगलवार २१:५८

सर्लाही – सिरहाको कल्याणपुर नगरपालिका–१२ तिलासीमा बेल्हा खानेपानी तथा सरसफाइ आयोजनाको काम अलपत्र रहेको छ । पञ्चवर्षीय योजनासहित विसं २०७२ देखि सुरु भएको उक्त खानेपानी आयोजना ९ वर्ष बित्दा पूरा नभएको हो ।

५ वर्षभित्र एक हजार दुई सय घरधुरीलाई स्वच्छ खानेपानी खुवाउने लक्ष्यसहित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लहानले ६ करोड ५० लाखमा आयोजना बनाउन सुरु गरेको थियो । कार्यालयले हालसम्म रु दुई करोडमा दुई बोर्डिङ गाडेर ट्याङ्की बनाएर बाँकी काम अलपत्र छाडेको छ ।

समयमै पूर्णता दिन बेल्हा खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुशेश्वर ठाकुरले भने पाँच वर्षभित्र योजना सम्पन्न गर्ने भने पनि नभएको स्थानीयको गुनासो छ । “डिभिजन कार्यालयमा धाउँदा धाउँदा र हाकिमलाई भन्दाभन्दा थाकिसकेँ”, उपभोक्ता समितिका अध्यक्ष ठाकुरले भने ।

साबिकको लहान खानेपानी तथा सरसफाइ डिभिजन पछिल्लो समय समायोजना भएर सप्तरीको राजविराज डिभिजन कार्यालयअन्तर्गत समावेश भइसकेको छ । आर्थिक वर्ष २०७९/८० असार मसान्तमा डिभिजन कार्यालय राजविराजले रु १९ लाखको बोर्डिङको पाइप किनेर कार्यालय अगाडि थुपारेर छाडेको छ ।

त्यो पाइप जडान गर्न त्यसपछि कहिल्यै डिभिजन कार्यालयका कर्मचारीनै पुगेनन् । आर्थिक वर्ष २०८०/८१ म छुट्याएको रु १७ लाख डिभिजनले कामै नगरी ‘फ्रिज’ भएर गएको बताइएको छ । कल्याणपुर–१२ का वडाध्यक्ष दिलीपकुमार यादवले भने वडावासीलाई स्वच्छ खानेपानी खुवाउन निरन्तर योजनाबारे सोधीखोजी गरिरहेको बताए ।

“डिभिजन कार्यालय छुट्याएको खुद्रे बजेटले पनि लापरबाही काम गर्छ”, अध्यक्ष ठाकुरले भने, “यसरी यो आयोजनाले कहिले पूर्णता पाउँदैन ।” सरकार र स्थानीय जनप्रतिनिधिको बेवास्ताले खानेपानी आयोजना अलपत्र परेको स्थानीय बताउँछन् । सङ्घीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको आयोजना भएकाले उचित बजेट नदिँदा पूर्णता पाउन नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजका प्रमुख विश्वनाथ यादवले बताए । – रासस

सम्बन्धित समाचार