काठमाडौँ – बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा गरेर देश छोडेकी छन् ।
बिबिसीका अनुसार प्रदर्शनकारीले प्रधानमन्त्रीको निवासमा प्रवेश गरेर तोडफोड गरेपछि उनी देश छोडेर ‘सुरक्षित ठाउँ’ गएकी हुन् । मिडिया रिपोर्टका अनुसार शेख हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतला प्रस्थान गरेकी छन् ।
उनी हेलिकप्टरमा भारत गएकी हुन् । उनी आफ्नी बहिनीलाई साथमा लिएर देश छोडेको बिबिसीले उल्लेख गरेको छ । आइतबार भएको प्रदर्शनमा सयभन्दा बढीको मृत्यु भएपछि बंगलादेशमा प्रदर्शनले उग्र रुप लिएको थियो ।
बंगलादेशका सेना प्रमुखले भने– अन्तरिम सरकार बन्छ
सरकारविरोधी प्रदर्शन उत्कर्ष पुगेसँगै प्रधानमन्त्री शेख हसिना देश छोडेर भागेपछि बंगलादेशमा अन्तरिम सरकार बन्ने भएको छ । सेना प्रमुख जनरल उज जमानले देशमा अन्तरिम सरकार बनाउने घोषणा गरेका हुन् । उनले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
हसिना भागेर भारत पुगेको बताइएको छ । केही बेरअघि प्रधानमन्त्री निवासमा हजारौंको संख्यामा प्रदर्शनकारी छिरेका छन् । प्रधानमन्त्री पदबाट राजीनामा दिएर हसिना भागेपछि प्रदर्शनकारीहरू खुसी मनाइरहेका छन् । उनीहरूले यसलाई ऐतिहासिक जित भनेका छन् । बंगलादेश स्वतन्त्रतापछिकै खुसीको दिन भएको भन्दै नारा लगाएका छन् ।
बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षाका लागि परराष्ट्रमन्त्रीको निर्देशन
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा जारी रहेको आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्नसक्ने अप्ठ्यारोप्रति जानकार रही उनीहरूको सुरक्षामा सक्रिय रूपमा लाग्न ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिएकी छन् ।
मन्त्री डा राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोन मार्फत त्यहाँको पछिल्लो अवस्थाका बारेमा आज जानकारी लिएपछि त्यहाँ रहेका नेपालीहरूको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न सो निर्देशन दिएकी हुन् । त्यस अवसरमा बङ्गलादेशमा नेपाली विद्यार्थीलगायत सबै नेपाली नागरिक सुरक्षित रहेका बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले जानकारी गराएका थिए । मन्त्री डा राणाले धेरै नेपाली विद्यार्थी स्वदेश फर्किसकेको भए पनि त्यहाँ बाँकी रहेकाहरूको सुरक्षाका लागि उनीहरूको सम्पर्कमा रहेर आवश्यक समन्वय गर्न दूतावासलाई निर्देशन दिइन् ।
ढाकास्थित नेपाली दूतावासले बङ्गलादेशमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएकाले त्यहाँ रहेका सबै नेपालीलाई आफू रहेका स्थानमै सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन आज सूचना जारी गरेको छ । सो सूचनामा बङ्गलादेशबाट अधिकांश विद्यार्थी स्वदेश फर्किसकेका, हाल त्यहाँ करिब ४०० विद्यार्थी रहेका र उनीहरू सुरक्षित रहेका जानकारी पनि दिइएको छ । सो सूचनामा नेपाल फर्कन चाहनेहरूले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न आग्रह गर्दै आवश्यक समन्वयका लागि दूतावासको सम्पर्क ठेगाना पनि दिइएको छ ।