सर्लाही – स्रोत नखुलेको साँढे १२ लाख रुपैयाँसहित एक भारतीय र एक नेपाली गरि दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा बारा प्रसौनी गाउँपालिका ५ घर भएका विकास कुमार र भारतको रक्सौल बस्ने श्यामकुमार महतो रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल पर्साले उनीहरुलाई बिरगंज महानगरपालिका वडा नं. २५ सिर्सिया स्थित नेपाल–भारतको नाकाबाट पक्राउ गरेको हो।
प्रहरीले जाँचका क्रममा १२ लाख ५० हजार नगद उनीहरुको साथमा भेटाएको र उक्त रकमको श्रोत खुलाउन नसकेपछि उनीहरुलाई पक्राउ गरिएको हो। प्रहरीले उनीहरुको साथबाट श्रोत नखुलेको १२ लाख ५० हजार नगद, ना ३५ प ६७१६ र भारतीय बीआर ०५ एए ०९०६ नम्बरको मोटरसाइकल बरामद गरेको छ। उनीहरुलाई थप कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।