भारतमा ‘फेक भिसा’ उपलब्ध गराउने नेपाली महिला पक्राउ

२०८१ श्रावण २५, शुक्रबार १०:५०

सर्लाही – भारतको राजधानी नयाँ दिल्लीमा ‘फेक भिसा र्‍याकेट’ चलाएको आरोपमा एक नेपाली पक्राउ परेका छन् । दिल्ली प्रहरीका अनुसार, उनले ‘इजी मनी’ र विदेशमा अझ राम्रो जीवनशैलीको आशा देखाएर मानिसलाई लोभ्याउँदै आएका थिए । पक्राउ परेका व्यक्ति सुनील थापा भएको बताइएको छ । आफ्ना सहयोगीमार्फत नेपाली महिलाका निम्ति भारतीय पासपोर्ट प्रयोग गरेर हङकङको नक्कली भिसाको प्रबन्ध गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार, सविना गुरुङ नामकी महिला भारतीय पासपोर्ट प्रयोग गरेर हङकङबाट यही अगस्ट ५ मा दिल्ली आइपुगेकी थिइन् । उनको कागजात जाँच गर्दा यात्रु नेपाली भएको पाइएको थियो । उनको भारतीय पासपोर्ट ठगी गरी प्राप्त गरिएको थियो । त्यससम्बन्धी एफआईआर दर्ता गरिएको प्रहरीले जनाएको छ । २७ वर्षीया सविना नेपालको लमजुङकी भएको अनुसन्धानका क्रममा पत्ता लागेको छ । उनले आफूलाई नेपाली पासपोर्टमा विदेश जान अप्ठ्यारो हुन्छ भनिएको बताएकी छन् । सोही कारण भारतीय पासपोर्ट लिएको उनको भनाइ छ ।

‘फेक’ कागजातका आधारमा उनका एक आफन्तले सन् २०१८ मा त्यो पासपोर्ट बनाइदिएको उनले बताएकी छन् । पछि उनले सुनीललाई भेटेको र उनैले हङकङको भिसा मिलाइदिएको उनले उल्लेख गरेकी छन् । पछिल्लोपटक पनि सुनीलले नै हङकङको भिसा मिलाइदिएका थिए । योपटक भने नक्कली भिसा भनेर फिर्ता गरिएको उनले बताएकी छन् । २८ वर्षीय राज पनि भनिने सुनीलको घर नेपालको बुटवल भएको बताइएको छ । सोधपुछका क्रममा सुनीलले आफूबाट गल्ती स्वीकार गरेका थिए । – एजेन्सी

सम्बन्धित समाचार