काठमाडौं – ब्राजिलमा एक जहाज दुर्घटना हुँदा ६२ जनाको मृत्यु भएको छ । ब्राजिलको साउपाउलोतर्फ गइरहेको उक्त जहाज दुर्घटनामा परी ५८ जना यात्रु तथा चालक दलका सदस्यसहित ६२ जनाको मृत्यु भएको हो ।
स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले दुर्घटनामा परेको जहाजमा सवार सबै जनाको मृत्यु भएको जनाएको छ । उक्त विमानले दक्षिणी राज्य परानास्थित कास्केवेलबाट साउपाउलोको लागि उडान भरेकोकम वेन्हेडो शहरमा दुर्घटनाग्रस्त भएको हो । भोएपास एयरलाइन्सले विमान विन्हेड शहरमा दुर्घटनामा परेको जनाएको छ ।
साउपाउलोका अग्निनियन्त्रकहरूले घटनास्थलमा उद्धारको अधिकतम प्रयास गरेको र यसपछिका थप विवरण नआएको जानकारी दिएका छन् । तर, स्थानीय अधिकारीहरूले भने उक्त दुर्घटनामा कसैलाई पनि बचाउन नसकिएको बताएका छन् । स्थानीय अधिकारीहरूका अनुसार जहाज आवासीय क्षेत्रमा दुर्घटना भएको हो । तर, स्थानीयहरू कोही पनि घाइते नभएको उनीहरूको भनाइ छ ।
सामाजिक सञ्जालहरूमा अपलोड भएको भिडियोमा भने एउटा विमान घुम्दै सिधै तलतिर झरेको देखिएको छ । घटनाको समाचार पाएलगत्तै ब्राजिलका राष्ट्रपति लुला दा सिल्वाले एक कार्यक्रममा एक मिनेटको मौनधारण गरेका थिए । सामाजिक सञ्जालमा उनले लेखेका छन्- धेरै पीडादायी घटना । पीडित परिवार र उनीहरूका आफन्तप्रति समवेदना प्रकट गर्दछु ।