सर्लाही – महोत्तरीबाट पैसा लुटेर फरार भएका तीनलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।
हिजो ( साउन २८ ) सोमबार सिन्धुलीको भिमानबाट बर्दिबास गइरहेको बसमा सवार बर्दिबास नगरपालिका-३ बस्ने वृद्ध रेशम बलम्पाकीको ४ लाख ७० हजार रुपैयाँ लुटेर फरार भएका उनीहरुलाई सर्लाही प्रहरीले हिजो राति साढे १० बजे पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका-४ जिरायत घर भएका ४० वर्षका रामबहादुर थिङ, धादिङका ४४ वर्षीय कृष्ण ठकुरी र विराटनगर महानगरपालिका-१२ बस्ने ५४ वर्षका रुपक भुजेल रहेका छन्।
वृद्धको रकम लुटेर फरार भएका उनीहरू धरानबाट नारायणगढ जाँदै गरेको बसमा चढेर सर्लाहीको बागमती नगरपालिका-१२ स्थित पुतलीचोकमा रहेको कालिका होटलमा आई सोहि होटेलमा बसेका थिए। त्यहि समयमा गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलेली उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरूको साथबाट २ लाख २८ हजार ५ सय रुपैयाँ बरामद भएको छ । उनीहरूले बाँकी रकम विभिन्न बैंक खातामा जम्मा गरेको र खर्चसमेत गरिसकेको बुझिन आएकाले त्यसमाथि अनुसन्धान भइरहेको र उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।