सर्लाही – देशका केही भू–भागमा गएरातिदेखि नै वर्षा भइरहेको छ । आज दिउँसो र राति नै वर्षा हुनेछ । दिउँसोभन्दा राति ठूलो वर्षाको सम्भावना छ । दिउँसो हल्कादेखि मध्यम वर्षा हुँदा राति भारी वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर साधारणतया बदली छ ।
वाग्मती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । विभागले दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार दिउँसोभन्दा राति ठूलो वर्षा हुनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
यसैबीच, पूर्वी नेपालका विभिन्न स्थानमा गएराति वर्षादेखि नै भइरहेको छ । खोटाङको ऐंसेलुखर्क, दूधकोसी रबुवाबजार, ओखलढुङ्गाको ओखलढुङ्गा, मानेभन्ज्याङ वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा भएको छ । थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बहने दूधकोसी नदी र यसका सहायक नदीहरूमा तथा टाप खोला, रावा खोला, मौलुङ खोला र अन्य स–साना खोलामा बहाव केही बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सङ्खुवासभाको खाँदबारी, अरुण तुर्केघाट वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा भएको छ । थप वर्षा हुनसक्ने सम्भावना रहेको हुँदा उक्त क्षेत्र भएर बहने अरुण नदी र यसका सहायक नदीहरूमा तथा सभा खोला, हिन्वा खोला र अन्य स–साना खोलामा बहाव केही बढ्ने विभागले जनाएको छ । त्यसैले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ ।