सर्लाही – भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको परिचय खुलेको छ। प्रहरीका अनुसार उक्त दुर्घटनामा मृत्यु हुने पुरुष ओखलढुंगाको चिसंखुगढी गाउँपालिका-४ घर भएका उत्तम कोइराला रहेका छन्।
भक्तपुर परिसरका डीएसपी राजन कार्कीले मृतकका आफन्तले उनी कोइरालाको भएको पुष्टि गरेको बताए । करिब ४५ वर्षीय कोइरालाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ ।
शुक्रबार दिउँसो ना ६ ख २१७३ नम्बरको ट्रकले रोकिरहेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म घिसारेको थियो । घटनास्थलमै मृत्यु भएको उनको शरीर क्षतविक्षत भएको छ ।
प्रहरीले दुर्घटना गराउने ट्रक चालकलाई पनि पक्राउ गरेको छ । सर्लाहीको मलंगवा घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको डीएसपी कार्कीले बताए । दुर्घटना छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन् ।