सर्लाही – गएको आर्थिक वर्ष २०८०/८१ मा करिब साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार उक्त अवधिमा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ भित्रिएको हो।
अघिल्लो वर्षको तुलनामा यो विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा भने रेमिट्यान्स २३.२ प्रतिशतले बढेको थियो । गएको एक वर्षको अवधिमा वैदेशिक रोजगारीका निम्ति अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या चार लाख ६० हजार १०३ छ । पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ८१ हजार १९९ छ ।
नयाँ र पुराना गरी एक वर्षमा करिब सात लाख ४१ हजार नेपाली वैदेशिक रोजगारीमा आबद्ध रहेको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा यो संख्या क्रमशः चार लाख ९७ हजार ७०४ र दुई लाख ७७ हजार २७२ थियो । गत वर्ष खुद ट्रान्सफर १४.७ प्रतिशतले वृद्धि भई १५ खर्ब ७१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।