भुइँमै जनता, कुर्सीमा शासक : लोकतन्त्रले के दियो ?

२०८१ भाद्र १६, आईतवार १८:२७

चन्द्रलाल जैसी, नेपालगन्ज – नेपाल बिश्वकै १८औं जेठो मुलुकमात्र होइन, कहिल्यै कसैको उपनिवेश नबनेको मुलुक पनि हो । शान्त र शिखर भएको मुलुक पनि हो । तर आज नेपाल र नेपालीको दुर्भाग्य, तीन करोड जनसंख्या भएको मुलुकका करिव दिनहुुँ सयौं युवा विदेशिएका छन् । अध्यागमन बिभागका अनुसार सन २०२३ मा ७० हजार नौ सय १५ जना युवाहरू विभिन्न देश गएका छन् । दैनिक १५ देखि २५ सय युवा बिदेशिनु परेको छ । अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार बार्षिक ५ लाख युवा बिदेशीने गरेका छन् ।

श्रमिकको श्रम र पसिना बेचिएको अपाङ्ग मुलुक कसरी समृद्ध हुन सक्छ ? बुदिजिवी, युवा, विद्यार्थी, श्रमिक, मजदुर सबै पलायन भइरहेका छन् । बुद्धि साहस भरोसा, भबिष्यको जिम्मेवार समूह, युवा पुस्ता पलायन हुँदा मुलुकमा पथभ्रष्ट राजनीति समृध हुन सक्दैन । नयाँ पिढीका लागि मुल बाटो हुन सक्दैन । नेपाल कागजमा प्रगतिको घोडा दौडाउने मुलुक हुनु दुःखद पक्ष हो । नेपालको बिकास कागजको ग्राफमा हुन्छ । नेपालीको बिकास भिउटावर राजधानीमा बिदेशी पाहुनाको स्वागत सजाउनमा बिबस छ ।

लोकशासन जंगलशासन बन्दै छ । लोकतन्त्र सिकार खेल्ने जंगल बन्दैछ । नेपाली जनता ढोरपाटनको झारल र नाउर भन्दा पनि असंरक्षित छन् । राज्यले जनताको संरक्षण गरेको खोइ ? देशमा सधैं गाली गलोज काट मार हत्या हिसां कहिलेसम्म, दोष रिस राग के का लागि ? कतै लुटपाट कतै काटमार बिबिधतामा एकता खै ? मै हु भन्ने न्यायका मुर्ति न्यायाधीशले देख्दैनन् कि हामी हौ भने राष्ट्र सञ्चालकले बुझ्दैनन कि ? समाजका जानकार नागरिक सामाज चिन्तन गर्दैनन् कि ? नव सामाजशास्त्रीहरु किन मुख खोल्दैन्न् ? बिज्ञ बिशेषज्ञले केही जान्दैनन् कि ?

धरहरा भन्दा अग्ला घरैघरका महान हस्ती मानव भित्र मानवता छ कि दानवता । सबको आवाज सुनाउँछौ भन्ने टेलिभिजन च्यानल अनि सबको भाव पीडा लेख्छौ भन्ने प्रेसका अभियान्ताले चिन्छन् कि नेपालको यो चरम भ्रष्टाचारको अन्त्य समुन्नत राष्ट्र निर्माण गर्ने कसको जिम्मेवारी हो । कोहि त बोल नेपाल र नेपालीको बारेमा । हामी नै सारा साहारा हौ भन्ने जनताका प्रतिनिधिले जनताका हुन् ? चिन्दछन् कि चिन्दैनन् ? यो देशको समृद्धी र नेपाली जनताको संरक्षण गरिदिने कसले होला ? म कसलाई सोधु ।

सन १७७५ अप्रिल १९ देखि सन् १७८३ सेप्टेम्बर ३ सम्म करिव ८ बर्ष स्वतन्त्रता संग्राम र जंगली युग, दास युग, उपनिबेश युगबाट आधुनिक युगमा प्रबेश गरेको र बेलायती उननिबेशबाट मुक्त भएको देश अमेरिका आज बिश्वको अगुवा शक्तिशाली राष्ट्र हो । राजनीतिको ठाउँमा राजनीति, शिक्षा, स्वास्थ्य, विधि र प्रबिधिमा निश्पक्षता भएको मुलुक भएरै अमेरिका बिश्वशक्ति सप्पन्न र आर्थिक हिसाबले मजबुत भएको हो । शताब्दी औ पछि पत्ता लगाएको अमेरिका धनी बिश्वको पहिलो राष्ट्र बन्ने ।

सन १८८५ देखि १९४७ सम्म ६२ बर्ष स्वतन्त्रता संग्राम चलाएर स्वतन्त्र भएको राष्ट्र भारतको सामु इं. पु. ५०० देखि ६०० र टिस्टुङ शिलालेखमा नेपालको स्थापना भनी बि. सं. ५६९ लेखिएको र लामो इतिहास र इतिहासको अध्ययन भएदेखि बि. सं. ९३५ सम्मको प्राचीनकाल, मध्यकाल, आधुनिक काल हुँदै गोपाल, महिषपाल, किराँत, सोम, लिच्छवि, मल्लकाल, शाहकाल, राणाकाल, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीय लोकतान्त्रिक गणतान्त्रिक भएर करिव द्वापरयुग, तेत्रायुग, हुँदै कलियुगमा आउँदा थुप्रै बंशाणुगत, परिवारगत प्रधानमन्त्री, राजा, महाराजा, लोकतान्त्रिक दल कम्युनिस्ट दल, गैर कम्युनिस्ट पुजीवादी, समाजबादी सबैले शासन गर्दा पनि किन देश बनेन । सधै ब्यक्ति जो शासक हो त्यो बने ।

त्यसपछि शासन प्रणाली खराव हुने देशको आर्थिक अवस्था कमजोर शासक धनीमनी हुने परिपाटीको बारेमा के नेपाली जनता गहिरिएर सोच्ने बेला भएको छैन होला र ? कति मिठा आकर्षक, गिताभन्दा पवित्र शान्तिका चाहनासहितका सहमतिका बुँदाहरु के नेपाली दलका सहमतिका घोषणा पत्र यति चाँडै कागजका टुक्रा बनेका हुन् त । सत्तास्वादमा डुबेको नेतृत्व र तिनका सहयोगी र नागरिक समाजसमेत च्याउचेस्कु मार्गमा चेतनाशुन्य भएर बेजोडले दौडिरहेका छन् ।

हामी त बुद्धभुमि, तपोभुमिका बासिन्दा नेपाल र नेपालीको एउटा सत्य के भने “नेपालीका लागि नेपालभन्दा सुन्दर अर्को न कुनै ब्रह्माण्ड छ न कुनै बैकुण्ठ छ “आज कुशासन चलाउनेहरु लोकतन्त्रको गुल्छरा उडाउन थालेका छन् । यो सबै देखेर नै होला आफ्नै देश भित्र शरणार्थी बनेका जनता स्तब्ध छन् । किनभने बुद्ध परलोक छन् श्री ७ गणतन्त्रका दलालको नाचगान गर्ने पुरानो सभा महल बिदेशी मुलुकको ऋणमा बनेको सभाहल टेबुल कुर्सीमा दलहरुको अपबित्र राजनीतिक रतिराग दिनहुँ चलेकै छ । बिदेशी ऋणको सहयोगमा आफ्नो देश खोज्दै चन्द्र सुर्य अंकित झण्डा शिरमा बाँधेर लाखौ माइलाहरु चुहिने घरको छानो टाल्न बिदेशिन बिबश छन् ।

बिश्वकको उत्कृष्ट अति उत्तम ब्यबस्था लोकतन्त्र आएको अढाइ दशकमा नेपालमा आत्मनिर्भरतामा शुन्यता आयो । उद्योगधन्दा बन्द बए । गेडागुडी न्युजिल्यान्ड अष्ट्रेलियाबाट आयत गरिन्छ । आगन बारिमा उमार्न सकिने ढोका सिगार्ने, मन्दिर सजाउने फुल कलकत्ता र मलेसियासम्मबाट मगाइन्छ । दाल बर्माबाट, खुर्सानी फिलिपिन्सबाट, प्याज जर्मनीबाट, लसुन चिनबाट, आलु भुटानबाट, चामल, गोभी, टमाटर, बोडि, फर्सी, स्याउ फलफुल भारतबाट, छ्याङ कोरियाबाट, रक्सी अमेरिकाबाट ल्याउने यी सबै देशमा यताबाट श्रममा युवा बेचिनु पर्ने किन ? कहिलेसम्म ? यी सब अवस्था हेरेर मन निशास्सिएर आउँछ अनि भन्छु ।

नेपालमा सिलाजित, बेसार, करेला, पाचऔले, चिराइतो, सर्पगन्ध, यार्सागुम्बा, अमला, भुइँअमला, कालोजिरो, जट्टामसीलगायत २६४ प्रजाती र ३५ सय संख्यामा जडिबुटी छन् । बिश्वमा नपाइने जडिबुटी नेपालमा पाइन्छ । यी सबै जडिबुटीको प्यारेण्ट राइट बिदेशमा निर्यात गर्नुपर्ने । हाम्रो दुर्भाग्य गलत नेतृत्वका कारण आज सबै जडिबुटी उत्थान बिदेशीलाइ जिम्मा लगाइयो । बिपदमा परेका जनतालाई राहतका नाममा दलीयकरण गरेर दाल दले सरह दलिन्छ र कुहिएको चामल बाडिन्छ त्यसैमा भ्रष्टाचार गर्नुपर्ने ।

पाउनै पर्ने आधारभुत उपचारसम्म नपाएर जनता मरिरहेछन् । न्यायको मुखमा बुलाकी ताल्चा लगाउँदा अब जनताले बुझ्ने र बिउझिने बेला भएन र ? जनताको आँसुलाई कहिलेसम्म लोकतन्त्र गोहिको आँसु भइरहनुपर्ने हो ? सन ४० को दशकमा चिनमा अफिम क्रान्ति भयो र ४९ को अक्टोबरमा माओको क्रान्ति सफल भयो । ६० को दशकमा सांस्कृतिक क्रान्ति पनि भयो । तर ७० को दशक सुरु नहुँदै माओलाई दिब्यज्ञान हासिल भयो र उनले जनताका सामु गल्तिको क्षमायाचना गरे । त्यो संघर्ष र नेतृत्वको जनता प्रतिको झुकाव र लगनशीलताले हो आज चीन बिश्वमा आर्थिक साम्राज्यको रुपमा फैलिरहेको छ । नेपालका राजनीति दलका नेता गल्ती पछि फेरि गल्ती सधै गल्ती गरिरह्न्छन् तिनिहरुलाई जनताको सामु गल्तिको महसुस समेत गर्दैनन् ।

अझै जनताले कहिलेसम्म भरोसा गर्ने किन गर्ने आधार कुनै छैन । नेपाली शासकले जनतासँग गल्तिको माफी होइन हैकम चलाउने गरेमा अहंकारमा न शान्ति उम्रन्छ न समृद्धी फुल्छ । सन १६०३ मा स्कटल्याण्डका राजा जेम्स चौथोले बेलायतको श्रीपेँच लगाएर युनाइटेड किङ्डमको घोषणा गरेका थिए । सन १६४९ फेब्रुअरी ७ मा राजसंस्थाको अन्त्यको घोषणा हुन गयो । तर १९ बर्ष पनि गणतन्त्र टिक्न सकेन । ठूलो मुल्य चुकाएर १९६१ मा राजतन्त्र पुनः स्थापना गरेको वर्तमान बेलायत हो । आज बेलायतसँग लिखित संबिधान छैन, तर नैतिकता र लोकलज्जाको भयले बेलायत समृद्ध बनेको छ । हाम्रो देश नेपालमा भने ७ वटा संबिधान, सात प्रदेशका आफ्नै कानुन, ७५३ स्थानीय तहका आफ्नै नीति नियम छन् ।

तर नैतिकता भने चिज जनताका प्रतिनिधि तल्लो तहका वडा सदस्यदेखि प्रधानमन्त्री राष्ट्रपतिसम्म कसैमा नेतिकता छैन । जनताका निम्ति हप्ता पिच्छे नीति नियम बनाउने आफू निति नियम ऐन कानुन भन्दा माथि शासक भएसम्म देश समृद्ध र समुन्नत बन्दैन । वि.सं. २०६५ साल जेठ १५ गते नेपाल निर्माताका बंशजले चलाएको राजतन्त्र समाप्त पारियो । त्यसपछि सबैको मिलेमतोमा देशको अन्तर्राष्ट्रिय मान सम्मान र छविमा समेत लात हान्ने काम आलोपालो चलेकै छ । १० बर्ष ९ महिना ५ दिन सर्बहारा भुइँ बर्गका नेतृत्वकर्ता हौ भन्ने अहिलेका अर्वपती पुँजीवादी माओवादीले गरेको जनयुद्ध कारी जनताको चरम सास्तिकाल र १९ दिनसम्म चलेको दोस्रो जनआन्दोलन गणतन्त्र स्थापित गर्यो ।

सबै हुन्छ भने जनताको मलिन आशा माथि कालो बादल मडारी रह्यो । गणतन्त्र स्थापना भएको २ दशक पुग्नै लाग्यो तर न ढुङ्गा फुल्यो न उन्यु टुसायो । नेपाल अनैतिकताको डङ्गुर बन्न पुग्यो । साच्चै नयाँ नेपाल भनेको के रहेछ – हत्या हिंसा, लुटपाट, चोरीपैठारी, बलात्कार, भ्रष्टाचार यहि नै हो कि भुइँ वर्गलाई सपना देखाएको नया नेपाल ? मलाइ छुट्याउनै मुस्किल छ, कुन कृष्ण हो कुन कंस ? कुन सधे हो कुन अपराधी हो ? को पीडित हो को दोषी हो को साधु हो को डाका हो ? जित्ने हार्ने दुवै फुलमाला र अबिर जात्राले राताम्मे छन् । चोर, ज्यानमारा, अपराधीसमेत शिरदेखि पाउसम्म फुलका मालाले थिचिएका छन् ।

लोकतन्त्रको यो भिडभाड र अविर जात्रामा को जनवादी, को जनविरोधी ? त्यसैले म अनुभुती गर्छु नेपालमा ब्यबस्था परिवर्तनका निम्ति लडेका महान सहिदको रगत जनताको पसिना र बलिदानी नेपाली दासका लागि सिँचाइ भयो खेर गयो । बिगत नेपालको ७ दशकलाई हेरौं “भैसिमा किर्ना, गाइको थुनमा जुका र सत्तामा ४–५ जना नेपाली शासक के फरक छ । सधै जनताको रगत पसिना चुस्ने जनता लडाउने भिडाउने आफू सत्ता कुर्सी पाउने यसको अन्त कसले गर्ने यो देश बनाउने महान ब्यक्ति आउँदैछ को ? नेपाली इतिहासका महान युगान्तकारी ब्यक्तिले देखाएको सतमार्ग के पहिरोले बगाएको हो कि नेपाले शासकले नदेखेको हो । आज सक्कली दात देखाएर नक्कली हाँसो हास्ने र बेइमानसँग मितेरी गास्ने राजनीतिको दुषात सामाजमा पनि ब्याप्त छ ।

नेपालका आजका लोकनेताहरु आफ्नालाई काखी च्यापेर युग चेतना छर्ने स्रष्टाहरु राष्ट्रका सौन्दर्य र जनताका पक्षलाई रछानमा फ्याँकिरहेका छन् । शासक र सामाजका निर्देशक सामाजशास्त्रीहरु भित्र विवेक सिद्धिदैं गएको छ । आफ्ना मनपरेका र चाकडी गरेका नातेदारलाई मात्र असल र योग्य देख्ने राजनीतिका पहेँला आँखामा सहि चेतनाहरु कसिङ्गर बनेर बिझाएकाले नै देशको यो बेहाल भएको हो । एकता, मुक्ति, शान्ती र समानताको दियो बलेकै छैन । हरेका बर्गका अगुवाहरु आफ्नै मृत्युभोजमा मस्त छन् । अगुवा भ्रष्ट भएपछि पछुवा समेतले सामजलाई बिकृत पार्ने रहेछन् ।

प्राकृतिक र रणनीतिक केन्द्रमा उभिएका हामी रित्तो थाल ठटाएर सम्पन्नता कोरल्न अनुदान र रेमिट्यान्स आश्रित अर्थतन्त्रमा गणतन्त्रको बतासे फुल फुलाइरहेका छौ । आर्काको दान र रेमिट्यान्सले आत्मनिर्भरता आउँदैन, स्वाभिमान फल्दैन भन्ने बिर्षेका छौ । आफुसँग भएका प्राकृतिक स्रोत साधनलाई बन्धक बनाएर उद्योग कलकारखाना जिर्ण बनाएर राजनीतिक ब्यापार तिर तम्सिएका छौ । सत्ताको मोहले जनता देश माटो देशबासी शासकले युगौ पहिले बिर्सिसकेका रहेछन् । दानपत्र घिचेर लोकप्रियताको झ्याली पिटनेहरुलाई यो सत्य बुझाउने कसले ?

लोकतन्त्रमा लोकले सडकमा असरल्ल हुनुपर्ने, रुनुपर्ने र मर्नुपर्ने, न्यायका निम्ति मर्नका निम्ति सडक मै आउनु पर्ने हो भने सडक नपुगेका दुर्गम बासी कहाँ जाऔ । भिरमा गएर झुन्डिनु पर्ने सहि हो कि गलत कसलाई सोधु । ज्यामीर रोपेर सुन्तलाको आश गर्नु हुँदैन । लेण्डुप, क्विजलिङ, बिदेशी संस्कृति रोपेर बिस्मार्कको राष्ट्रवाद भाषण फलाक्ने कहिलेसम्म ? बिदेशी रसवरिको स्वाद लिनेहरुका लागि सजिलो छ –हनुमान बनेर भक्ति गर्यो पेडा खायो । देश र जनतालाई पीडा दियो । हनुमानले खाने पेडा नै हो । लोकतन्त्र लुट्नका लागि मज्जाको हनुमान पद्धती रहेछ । नेपालीका जिउँदा पुच्छर बाङगा भएको होइन सोँच बिचार बाङ्गा भएका हनुमानले सोँचेका छन् – जनता निदाएका छन, तर नेपाली जनता अबोध छैनन् जनतालाई थाहा छ – कमरेड, लालसलाम, अभिभादन, माक्र्स लेलिन, माओ काका दाई बा जय मधेस जय जनता जय नेपाल जय देश भन्नेहरुले किन्तु प्रन्तु कुनै कसिङगर बाकी राखेनन् ।

जनता कुम्भ कर्णको निन्द्राबाट बिउझे दासत्व भन्दा माथि उठेको दिन के होला । स्विट्जरल्याण्डको प्रतिव्यक्ति आय ३० हजार डलर छ, सिगांपुरको प्रतिव्यक्ति आय २५ हजार छ । सिगांपुर र स्विटजरल्याण्ड जस्तै प्राकृतिक स्रोत र साधनले सम्पन्न भुपरिबेष्ठित मुलुक नेपालको प्रतिव्यक्ति आय ३ सय डलर पनि छैन । प्रतिव्यक्ति ऋण नेरु करिव साठी हजार छ । यो ऋण बापत देशले के गर्यो कुन उद्योग कुन कलकारखाना निर्माण कुनै रोजगार केन्द्र खोल्न ल्याएको हो ? हैन गाउँगाउमा सिहंदरबार र स्याल पाल्न ल्याएको ऋण हो जनताले कहिले बुझ्ने । जनसंख्याको करिव ६० प्रतिशत जनता एकछाक भोकै बस्छन, महामारी र प्रकोपमा बाडेको भात खान राजनीति दलको दलुवा हुनुपर्ने ?

जनप्रतिनिधिहरुलाई कुनै हिनताबोध हुँदैन । बिश्वमान चित्रमा बुद्धको देशले चिनिन्थ्यो, सगरमाथाको नामले चिनिन्थ्यो, बहादुर वीर गोर्खे नामले चिनिन्थ्यो । कृषि प्रधानदेश भनियो, त्यसपछि हरियो बन नेपालको धन भनियो । खराव राजनीति नेतृत्वले भ्रष्ट शासन प्रशासनले कृषि, बन, पर्यटन, धार्मिक क्षेत्रलाई धराशायी भएपछि प्रकृति र पर्यटनलाई नेपालका लागि वरदानको आधार मानिँदैछ । र जलस्रोतलाई सेतो सुन भनिन्थ्यो २००८ सालमा कोशी, २०१६ सालमा गण्डकी, २०५२ सालमा महाकाली, मेची २०३६ सालमा, कर्णाली सेती जस्ता ठुला जलाधार क्षेत्रमा बिदेशीको हकैममा जलमल गर्ने यो नेपाली शासक कदापी दानविर होइनन् कमिश्नरविर हुन् ।

अझै जनता यी शासकको दास हुने कहिले सार्वभौम देशका स्वतन्त्र नागरिक हुने नेपाली जनताको आँखामा लागेको रतन्धो, मनमा जडा गाडेको दलिय स्वार्थ राजनीति धार्मिक जातिय भाषिक लैङिगक क्षेत्रभन्दा माथि उठेर एक पटक चन्द्र सुर्य अंकित झण्डा फरफराएर जोरले बोलौ जय देश जय नेपाल । हामी नेपाली बनौ देश बनाउ । एकता मित्रता र राष्ट्रियता हाम्रा आधारभुमि हुन् । यिनलाई बिर्सनु हुँदैन । हिलोमा रातो कार्पेट बिछ्याएर नाता र चाकरी पछ्याएर आफ्ना भाई भारदाजलाई मात्र सत्ता र शक्तिको आडमा रहेर हाम्रो देशको शासक पुग्ने कहा हुन् । नेपाली शासकहरु आत्माघाती बारुदमाथि बसेर राष्ट्रघात गरिरहेका छन् । नेपाली जनता कहिले घडी किनेर समय किनेको भ्रममा बाचिरहने । दृष्टि हुनेहरु आँखा र विवेकले हेर्छन, दृष्टिबिहिनहरु मनले हेर्छन । विवेक गुमाएपछि दृष्टि हुनु र नहुनुको कुनै भिन्नता रहँदैन । नेपाली शासकको दृष्टि अन्धो छ विवेक अपुरो छ । दृष्टि छ विवेक छैन, पशु हो हाँस्न जान्दैन ।

– लेखक चन्द्रलाल जैसी स्नातक अध्ययनरत विद्यार्थी हुन्।

सम्बन्धित समाचार