सर्लाही – गृह मन्त्रालयले नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी)को जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले बुधबार (हिजो) मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलसहित तीनजनाको जिम्मेवारी हेरफेर गरेको हो ।
मधेसमा भरतपुर शिक्षालयमा कार्यरत डीआईजी लालमणि आचार्यलाई पठाइएको छ । भरतपुर शिक्षालयमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी राजेशनाथ बास्तोलालाई पठाइएको छ । तीन डीआईजीको जिम्मेवारी हरेफेर भएको प्रहरी प्रवक्ता एवं डीआईजी दानबहादुर कार्कीले जानकारी दिए ।
डीआईजी पोखरेलले तस्करी नियन्त्रणमा उल्लेख्य काम गर्न नसकेको गुनासो मन्त्रालयसम्म पुगेको थियो । उनलाई प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । गएको पुसमा उनले मधेस प्रदेशको कमान्ड सम्हालेका थिए । आउँदो असोजमा डीआईजीको उमेरहदका कारण उनले अवकाश समेत पाउँदै छन् ।