पुतली चोरलाई २ करोड ६९ लाख जरिवाना

२०८१ भाद्र २८, शुक्रबार १४:१०

एजेन्सी, कोलम्बो – श्रीलङ्कामा इटालियन पिता र उनको छोरालाई झन्डै २ करोड ६९ लाख नेपाली रुपैयाँ (झन्डै २ लाख अमेरिकी डलर) जरिवाना तिराइएको छ ।

एउटा सफारी पार्कबाट ९२ प्रजातिका पुतलीसमेत सयौँको सङ्ख्यामा स्थानीय किरा फट्याङ्ग्रा तस्करी गरेर लैजान लागेको पाइएपछि सो जरिवाना लगाइएको हो । याला नेशनल पार्कका रेन्जरहरूले ६८ वर्षका लुइगी फेरारी र उनको २८ वर्षिय छोरा मात्तियालाई यही वर्षको मे ८ मा समातेका थिए ।

यी दुईको साथबाट प्रहरीले किरा फट्याङ्ग्रा र पुतलीले भरिएको जारहरू फेला पारेका थिए । यी दुईले केमिकल हालिएको जारमा पुतलीहरूलाई राखेकोले रेन्जरहरूले भेट्टाउँदा सबै मरिसकेका थिए । यी दुईमाथि गैरकानूनी तवरले पुतलीहरू सङ्कलन गरेको, साथमा राखेको र परिवहन गरेको भनेर सेप्टेम्बरको सुरुमा अभियोग चलाइएको थियो ।

यी दुईलाई श्रीलङ्कामा वन्यजन्तुसम्बन्धी अपराधमा लगाइने सबैभन्दा ठुलो जरिवाना लगाइएको छ । यी दुईमाथि सुरुमा ८१० वटा मुद्दा चलाइएको थियो । पछि यसलाई घटाएर ३०४ मा झारियो । सेप्टेम्बर २४ सम्ममा सो जरिवाना तिर्न नसकेमा बाबु छोरालाई २ वर्षको जेल सजाय हुनेछ । यो घटनाको समयमा बाबु छोरा श्रीलङ्का घुम्न आएको भन्दै इटलीका सञ्चार माध्यमहरूले खबर छापेका छन् । – बिबिसी

सम्बन्धित समाचार