सर्लाही – सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) का दिन आज नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ ।
गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।
‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ । यस्तै, मधेस सरकारले गत शुक्रबार एक बिज्ञप्ति जारि गर्दै प्रदेश भर सार्बजनिक बिदा दिएको छ।
जसपा अध्यक्ष यादवद्वारा मुस्लिम धर्मावलम्बीलाई शुभकामना
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना व्यक्त गरेका छन् ।
‘यस पर्वले सबै समुदायबिच आपसी भाइचारा र सद्भाव कायम राख्दै राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने विश्वास लिएको छु,’ उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ । सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि आज बिदा दिने भएको छ ।