कोडैनामा स्वास्थ्य संस्था स्तरमा गरिएको सामाजिक परिक्षण सार्बजनिकिकरण कार्यक्रम सम्पन्न

२०८१ भाद्र ३१, सोमबार २१:५१

गोडैता – सर्लाहीको कोडैना गाउँपालिकामा स्वास्थ्य संस्था स्तरमा गरिएको सामाजिक परिक्षण सार्बजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ। आज (सोमबार) गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सामाजिक लेखापरीक्षण, सर्वेक्षण र मूल्याङ्कनकर्ता बिष्णु पराजुलीले यस गाउँपालिका भित्र रहेका तीन वटा स्वास्थ्य संस्था (मोतिपुर स्वास्थ्य चौकी, कोडैना स्वास्थ्य चौकी, सक्रौला स्वास्थ्य चौकी) मा गरिएको सामाजिक परिक्षणको नतिजा सार्वजनिक गर्नु भएको थियो। सामाजिक परिक्षण गरिएका ती स्वास्थ्य संस्थाहरुमा गुणस्तर काम कम मात्रामा र नराम्रा काम अर्थात स्वास्थ्य संस्थाहरुमा नै समस्याहरु थुप्रिएको पाईएको छ।

ती तीन वटा स्वास्थ्य संस्थाहरुमा बिभिन्न बिषयबस्तुहरुलाई समेटेर सामाजिक परिक्षण गरिएको थियो। उक्त परिक्षणबाट निक्लेका समस्या, ती स्वास्थ्य संस्थाहरुले गरेका राम्रा र नराम्रा कामहरु पनि सार्बजनिकिकरण कार्यक्रममा प्रस्तुत गरिएको थियो। साथै, ती समस्याहरुलाई समाधानतर्फ कसरि लाग्ने, कसले के गर्ने, कसरि काम गर्ने ? भन्ने बिषयहरुमा छलफल समेत गरिएको थियो।

यस्तै, कार्यक्रममा उपस्थित भएका प्राय व्यक्तिहरुले संस्थाले गरेको यो कामको प्रशंसा गर्दै आगामी दिनमा स्वास्थ्य संस्था जस्तो संबेदनशिल स्थानमा यस्ता समस्याहरु नदेखिने गरि काम गर्न सरोकारवालाहरुलाई आग्रहसमेत गरेका थिए। सामाजिक परिक्षण गरिएका ती तीनै वटा स्वास्थ्य संस्थाका इन्चार्जहरुले कार्यक्रममा बोल्दै ती समस्याहरुलाई समाधान गर्ने प्रतिबद्धतासहित समय पनि घोषणा गरेका छन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाक्टर सोनेलाल साहले पनि यो कामको प्रशंसा गर्दै स्वास्थ्य संस्स्थाहरुका यी समस्या हटाउन र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनु पर्ने कुरामा जोड दिए। साथै, स्वास्थ्य संस्था रहेका वडा (वडा नम्बर ३,४,६) का वडा अध्यक्षहरुले पनि स्वास्थ्य संस्थाहरुका समस्याहरु तत्काल समाधान र स्वास्थ्य संस्थाहरुलाई आफूबाट हुने सहयोग गर्ने प्रतिबद्वता गरे।

कार्यक्रम नर्वे सरकारको आर्थिक सहयोग, युएनएफपीए नेपालको प्राविधक सहयोग र आसमान नेपालको सांझेदारीमा संचालित कार्यक्रम रिया परियोजना अन्तर्गत कोडैना गाउँपालिकाको आयोजनामा गरिएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नागिनी देबी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाक्टर सोनेलाल साह, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश राय यादव, गाउँपालिकाका कर्मचारीहरुको सहभागिता थियो।

साथै, सामाजिक परिक्षण गरिएका स्वास्थ्य संस्थाहरुका इन्चार्ज र स्वास्थ्य संस्था रहेका वडाहरुका वडा अध्यक्षहरु, आसमान नेपालका कर्मचारीहरु (रिया परियोजनाका संयोजक संजय यादव, अनुगमन मुल्यांकन जबाफदेहिता तथा सिकाई अधिकृत केशव राज जोशी ), युएनएफपीएका रिया परियोजना सर्लाही जील्ला संयोजक सम्झना शाह, युएनएफपीएका सर्लाही जील्ला बिज्ञ बच्चालाल महतो, शिक्षकहरु,लगायत केहि स्थानिय भलादमिहरुको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार