सर्लाही – अब बि.बि.ए कोर्ष पढ्न सर्लाही बाहिर जान नपर्ने भएको छ। जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका-२, मा भर्खरै संचालनमा आएको राजश्री जनक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्रम्हभूमि इन्स्टिच्युट अफ साइन्स टेक्नोलोजी एण्ड मेनेजमेन्टमा अब न्यूनतम शुल्कमा बि.बि.ए कोर्षको गुणस्तरीय शिक्षा लिन सकिने भएको छ।
भर्खरै संचालनमा आएको इन्स्टिच्युटले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो। अहिले बि.बि.ए कोर्ष पढ्न जील्ला बाहिर जानु पर्ने अवस्था छ। सोहि अवस्थालाई मध्येनजर गर्दै आफ्नै जील्लामा घर नजिकै बसेर न्यूनतम शुल्कमा बि.बि.ए कोर्षको गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि उक्त कोर्ष संचालनमा ल्याएको इन्स्टिच्युट परिवारले जनाएको छ।
इन्स्टिच्युटका प्राधानाध्यापक चन्द्रशेखर मिश्रका अनुसार राजश्री जनक विश्वविद्यालयसँग सम्बन्धन प्राप्त भएकोले अन्य शैक्षिक संस्थाको तुलनामा यस संस्थाबाट प्रदान गरिने उपाधिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वसनीयता थप बढी रहने छ। यो कोर्ष गर्न कलेज शुल्क बापत वार्षिक एकमुष्ट ७५ हजार लाग्ने बताइएको छ।
कोर्ष पूरा भइसकेपछि विद्यार्थीहरुको सबैभन्दा ठुलो समस्य जागिर पाउने रहेकोले यस संस्थाबाट आफ्नो अध्ययन पूरा गरिसकेका विद्यार्थीहरुलाई विभिन्न मल्टिनेसनल कम्पनी तथा प्रतिष्ठित बैंकहरुमा जागिरको लागि पहल गर्ने साथै, बेलाबेलामा बाहिरका प्रतिष्ठित र ठुला कलेजबाट सम्बन्धित विषयका शिक्षक र विद्यार्थीहरुलाई बोलाएर सहजताका लागि अनुभव सेयर गर्न लगाउने समेत व्यवस्था गरेको छ।
यहाँ भरेका फारमहरु सम्बन्धन प्राप्त विश्वविद्यालयमा जाने, तोकिएको समयमा प्रवेश परीक्षा हुने र विश्वविद्यालयले नै छनौट गरेका क्वालिफाइड विद्यार्थीहरुको मात्र भर्ना लिने भएकोले भर्नाका लागि कुनै किसिमको नाताबाद हावी नहुनेमा विश्वस्त रहन इन्स्टिच्युटका मेनेजिङ्ग डाइरेक्टर डा.राकेश कुमार सिंहले बताए। सिंहका अनुसार यसै शैक्षिक सत्र २०८१ देखि बि.बि.ए कोर्सको कक्षा सञ्चालन गरिने छ।