सर्लाही – वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सर्लाहीका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका-६ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-१५ बस्ने ३१ वर्षीय खालिक खान रहेका छन्।
खालिकले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुधबार उनलाई चन्द्रागिरी नगरपालिका-१५ तीनथानाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।