सर्लाही – महोत्तरीमा एक टेन्ट हाउसमा भीषण आगलागी भएको छ। जील्लाको जलेश्वर नगरपालिका– २ मदरसा टोलमा आज दिउँसो करिव १२ बजेतिर विपति साहको घरमा सटर भाडा लिएर सञ्चालनमा रहेको खुस्बु टेन्ट हाउसको स्टोरमा आगलागी भएको हो।
महोत्तरी प्रहरीका अनुसार आगलागी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै स्थानीयहरूको अथक प्रयासपछि नियन्त्रणमा आएको छ । आगलागी भने के कति कारण भयो भन्ने थाहा हुन् सकेको छैन। टेन्ट हाउसका सञ्चालक अरविन्द साहका अनुसार टेन्टमा पाँच थान ग्यास सिलिन्डरसमेत भएको बताउँदै सोहीमध्ये दुई सिलिन्डर पड्किएपछि आगलागीले उग्र रूप लिएको बताए।
आगलागीको जानकारी पाएलगत्तै अवस्था बुझ्न जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने तथा जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेल र डिएसपी सन्तुलालप्रसाद जयसवार उपस्थित भएका थिए । क्षतिको विवरण भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।