पहिरोले देशका विभिन्न स्थानमा ४ जनाको मृत्यु

२०८१ आश्विन १२, शनिबार ०८:५४

सर्लाही – अविरल वर्षासँगै पहिरो जाँदा देशका विभिन्न स्थानमा ४ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-७ मा भीम बहादुर तामाङको १ तल्ले घर पहिरोले पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको हो।

यस्तै, पाँचथरको फिदिम नगरपालिका ४ चिसापानी स्थित आदिवासी जनजातिको भवन छेउको घरमा गएराति पहिरोले खस्दा आमा छोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पा रहेका छन्।

यस्तै, देशभर कम्तीमा ७ जना बेपत्ता भएका छन् । काभ्रेको पनौती नगरपालिका-११ थुम्की भन्ने स्थानमा पहिरोले ५/६ वटा घर पुरिँदा ४/५ जना बेपत्ता भएको भन्ने खबर प्राप्त भएको छ । विपद् उद्धार बेस पनौतीबाट १५ जनाको टोली उद्धारका लागि खटिएको छ।

धनकुटाको पख्रिबास नगरपालिका-५ स्थित गुराँसे बस्ने सन्तोष तामाङको कच्ची घर पहिरोले पुरिँदा उनीको श्रीमती ३२ वर्षीया आशा तामाङ र आमा ५० वर्षीया राम कुमारी तामाङ बेपत्ता भएका छन् । नम्बर ६ गुल्म धनकुटाबाट खाटिएका १३ जना तथा नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीद्वारा उद्धार कार्य भइरहेको छ ।

सम्बन्धित समाचार