सर्लाही – हालैको बाढीपहिरो र डुबानबाट मधेशमा व्यापक क्षति भएको छ । प्रारम्भिक विवरणअनुसार पशुपन्छी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन र कृषि पूर्वाधारमा पाँच अर्ब रुपैयाँ बढीको हानी भएको छ ।अन्न भण्डारका रूपमा परिचित मधेशका धानखेत डुबेका छन् । बाला लागेको धान डुब्दा किसान चिन्तित छन् । माछा पोखरी डुब्दा करोडौँको क्षति भएको कृषि विज्ञहरूले बताएका छन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मनसुनजन्य विपद्बाट सिर्जित परिस्थितिका सन्दर्भमा छलफल गरी छिटोभन्दा छिटो कृषि क्षेत्रको क्षतिका तथ्याङ्क सङ्कलन गरी आगामी रणनीति बनाउन कर्मचारीलाई निर्देशन दिएपछि सातै प्रदेशबाट क्षतिको विवरण माग्ने कामले तीव्रता पाउँदा अहिले प्रारम्भिक क्षति विवरण तयार पारिएको छ ।मंगलबारसम्मको प्रारम्भिक विवरणानुसार विपद्बाट धान बालीमा ठूलो क्षति भएको मन्त्रालयका सूचना अधिकारी वरिष्ठ कृषि अर्थविद् महानन्द जोशीले जानकारी दिए ।
कृषि अर्थविद् जोशीका अनुसार मधेश प्रदेशको धानखेती तहसनहस भएको छ । मधेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा धान बाली नष्ट भएको छ । मधेश प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार वर्षाले मधेश प्रदेशमा कृषि क्षेत्रमा पाँच अर्ब ३३ करोड ७५ लाख रुपैयाँको क्षति पुर्याएको प्रारम्भिक विवरणमा जनाइएको छ ।
प्रदेशका आठ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरणानुसार ४२ हजार ६९ हेक्टरमा लगाइएको धान बालीमा क्षति पुगेको अनुमान छ ।यसैगरी, चार हजार तीन सय ९३ हेक्टरमा लगाइएको सागसब्जी नष्ट हुँदा एक करोड ३२ लाख, २२ हेक्टर क्षेत्रमा लगाइएको फलफूलमा क्षति हुँदा ४४ लाख र ८५ हेक्टरको उखुमा क्षति पुग्दा तीन करोड ४० लाखको क्षति भएको अनुमान गरिएको छ ।
कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवका अनुसार दुई हजार तीन सय हेक्टर क्षेत्रमा मत्स्यपालन प्रभावित हुँदा २३ करोडको क्षति अनुमान गरिएको छ । डुबानका कारण १४ हजार दुई सय पाँचवटा पशुपन्छी मर्दा ७६ लाख बराबरको क्षति भएको छ ।कृषि विकास निर्देशनालयका अनुसार मधेशका आठ जिल्लामध्ये सबैभन्दा धेरै रौतहटमा धान बालीमा क्षति भएको छ।
रौतहटमा १० हजार दुई सय ४३ हेक्टरको धान बाली प्रभावित हुँदा एक अर्ब २२ करोड ९१ लाख ५० हजार, सप्तरीमा नौ हजार तीन सय ६७ हेक्टरको धान बाली नोक्सान हुँदा एक अर्ब २२ करोड ४० लाख ४० हजार, बारामा छ हजार चार सय ७२ हेक्टर क्षेत्रमा लगाइएको धान बालीमा बाढी र डुबानले प्रभावित हुँदा ७७ करोड ६६ लाख ४० हजारको क्षति भएको छ ।
यसैगरी, सर्लाहीमा छ हजार पाँच सय ८४ हेक्टर क्षेत्रको धान बाली क्षति हुँदा ६९ करोड, सिराहामा १५८.६ हेक्टरमा लगाइएको धानबालीमा क्षति भएको छ । मधेशमा १४ हजार दुई सय पाँच पशुपन्छी मरेका छन् भने सर्लाही मात्र १० हजार पशुपन्छी नष्ट भएका छन् । धनुषामा सात सय हेक्टर बालीमा क्षति भएको छ ।