मिथिला क्षेत्रमा ‘दशहरा’ पर्व शुरू

२०८१ आश्विन १७, बिहीबार १३:१३

सर्लाही – प्राचीन मिथिला क्षेत्रमा ‘दशहरा’ पर्व शुरू भएको छ । मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडादशैँ पर्वको पहिलो दिन आज महोत्तरीसहितका यस क्षेत्रमा कलश यात्राका साथ घटस्थापना गरिएकाे छ । दशैँ पर्वलाई मिथिलामा ‘दशहरा’ भनिन्छ ।

मिथिला परम्परामा दुई वटा नवरात्र छन् । असोज शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई शारदीय र चैत शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई वासन्ती नवरात्र भनिन्छ । देवीपूजन र आराधनामा दुवै नवरात्र समान महत्त्वका भए पनि शारदीय नवरात्र पहिलेदेखि नै धुमधामले मनाउने प्रचलन रहेको पाका मैथिल बताउँछन् ।

मिथिलाका देवी शक्तिपीठहरूमा कन्याकुमारीले आज धार्मिक महत्त्वका नदी र सरोवरबाट माटोका नयाँ घडामा भरेर ल्याएको जल देवीको प्रतिमा र मन्दिर परिसरमा अभिषेक गर्दै त्यही जल कलश स्थापना गरेर घटस्थापना गरिन्छ । यस प्रयोजनका लागि आज एकाबिहानैदेखि बस्तीबस्तीमा कलश यात्राका कार्यक्रम भइरहेका छन् । – रासस

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार