सर्लाही – जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १५ हजार चारवटा बोकाको बलि दिइएको छ ।
मन्दिरमा महाष्टमी तिथिअनुसार बिहीबार साँझ ८ः३९ देखि करिब ८ घण्टासम्म सो संख्यामा बलि प्रदान गरिएको आयोजक महावीर युवा कमिटीले जनाएको छ ।

रसिद काटेर १४ हजार ६५२, कमिटीको नौ, नेपाल सरकारका विभिन्न निकायबाट ९३ र निःशुल्क रूपमा दुई ५० बोकाको बलि दिइएको समितिका अध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए । गत वर्ष १५ हजार २५१ बोका बलि दिइएको थियो ।
जनकपुरमा अष्टमीको दिन तीन करोडको लड्डु बिक्री
मधेस प्रदेशको राजधानी जनकपुरधाममा दसैँको महाअष्टमीका दिन आज करिब तीन करोड रुपैयाँको लड्डु बिक्री भएको छ ।
होटेल तथा पर्यटन व्यवसायी संघका केन्द्रीय सदस्य र ॐ बेकरी जनकपुरधामका सञ्चालक दशरथ साहले जनकपुरधाममा करिब ६५ हजार किलो लड्डु बिक्री भई तीन करोड रुपैयाँ बराबरको कारोबार भएको प्रारम्भिक अनुमान रहेको बताए ।
हंसराज मिठाइ पसलका सञ्चालक सन्तोष गुप्ताले विभिन्न शक्तिपीठमा प्रसादका रूपमा चढाउन बजारमा फरकफरक प्रकारका लड्डुको बिक्री भएको बताए । यहाँ रिफाइन घ्यूवाला, शुद्ध घ्यूवाला, मोतीचुर, महीनदाना, गोंद, मेवालगायत लड्डु पाइने गरेको उनले जानकारी दिए ।
यसबाहेक खीर कदम, केसर सन्देश, मेवा पैक, काजु बर्फीको पनि बिक्री हुने गरेको गुप्ताले बताए । जनकपुरधाम मुख्य बजार क्षेत्रमा दुई सयभन्दा बढी मिठाइ पसल रहेका छन् । बजारमा बुधबार साँझदेखि नै मिठाइ पसलेहरू लड्डु बनाउन व्यस्त देखिएका थिए । बिहीबार रातिदेखि ग्राहकको भीड बढेको थियो ।





