सर्लाही – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालकी पत्नी गायत्री नेपाल आचार्य घाइते भएकी छन् । आज बिहान आफ्नै घरको किचनमा काम गरिरहेकी उनी पोखिएको दूधमा चिप्लिएर लडेकी समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीले जानकारी दिएका छन् ।
‘आज बिहानै पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपालले विभिन्न विषयमा छलफल गर्न मलाई घरमा बोलाउनुभएको थियो,’ सुवेदीले फेसबुकमा लेखेका छन्, ‘उहाँ हामीसँग कुराकानीमा व्यस्त हुँदा किचेनमा काम गरिरहनुभएकी उहाँकी धर्मपत्नी कमरेड गायत्री पोखिएको दुधमा चिप्लिएर लड्नुभयो ।’
भुँइमा बजारिँदा उनको देब्रे हात फ्याक्चर भएको सुवेदीले जानकारी दिएका छन् । सुवेदीका अनुसार माधव नेपाल स्वयंले उनलाई बीएण्डबी अस्पताल ग्वार्को लगेको सुवेदीले जानकारी दिए ।