सर्लाही – पर्साको वीरगन्जमा अफिमसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा पर्साको कालीकामाई गाँउपालिका- १ का ५३ वर्षीय सुरेश प्रसाद कलवार र छिपहरमाई गाँउपालिका-१ का २९ वर्षीय भारती प्रसाद यादव रहेको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका मध्ये कलवार जिल्लाकै कालीकामाई गाँउपालिकाका अध्यक्ष वशिष्ठ प्रसाद कलवारका बुबा रहेका छन् । प्रहरीले उनीहरुलाई अफिम जस्तो देखिने पदार्थ ४ सय १८ ग्रामसहित वीरगन्ज महानगरपालिका – १० आदर्शनगरस्थित कलवारको घरबाटै पक्राउ गरिएको हो।
प्रहरीले कलवारको घरको कम्पाउण्डभित्र पार्किङ गरेर राखिएको ना ४८ प ३७६४ नम्बरको पल्सर मोटरसाइकलमा लुकाएर राखिएको अफिमसमेत बरामद गरेको छ। मोटरसाइकलबाट अफिम बरामद भएपछि उक्त मोटरसाइकल धनी कलवार र यादवलाई नियन्त्रणमा लिएर घटनासम्बन्धमा अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।