करेन्ट लागेर एक किशोरीको मृत्यु, दुई जना किशोरी घाइते

२०८१ कार्तिक २, शुक्रबार १६:३२

सर्लाही – महोत्तरीको गौशाला नगरपालिका–३, पचाईन टोलमा आज करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ भने दुई किशोरी घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय विहारी महतोकी छोरी १४ वर्षीया करिना कुमारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले बताए ।

आज बिहान खेतमा धान काट्न दुई दिदीबहिनीसँग जाँदै गर्दा उनीहरूलाई करेन्ट लागेको थियो । स्थानीय विनोद महतोले जंगली जनावरबाट बाली जोगाउन खेतमा लगाएको बिजुलीको नांगो तारबाट उनीहरूलाई करेन्ट लागेको थियो । करिनाकुमारीको घटनास्थलमै मृत्यु भएको हो । बहिनी करिनालाई बचाउने क्रममा उनकी दिदी १८ वर्षीया राधाकुमारी र १४ वर्षीया विभाकुमारी महतो घाइते भएका छन् ।

उनीहरू दुवैको गौशालास्थित निजी क्लिनिकमा उपचार भइरहेको छ । हाल उनीहरू स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । खेतमा करेन्ट प्रवाह गर्ने विनोद उक्त घटनापछि सम्पर्कविहीन छन् । मृतक करिनाको शव परीक्षणका लागि बर्दिबास अस्पतालमा पठाएको छ । घटनाबारे अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार