चन्द्रनगरमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८१ कार्तिक ९, शुक्रबार २१:४२

सर्लाही, धड्कन एफ एम संबाददाता – सर्लाहीको चन्द्रनगर गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनबारे स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको आयोजनामा र चन्द्रनगर गाउँपालिकाको सहकार्यमा बिहिबार कार्यक्रम गाउँपालिकाको सभा हलमा सम्पन्न भएको हो ।

कार्यक्रममा अख्तियारका शाखा अधिकृत विकास मिश्रले सर्लाहीका स्थानीय तहहरूमा आयोगमा प्राप्त उजुरी र तिनको फर्छ्यौट प्रक्रियाबारे जानकारी दिएका थिए । उनले भ्रष्टाचार कुन कार्यहरूबाट हुनसक्छ र कानुनअनुसार कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुति दिएका थिए । कार्यक्रममा सहभागीहरूको जिज्ञासाको उत्तर अख्तियारका उपसचिव तुलसीराम पौडेलले दिएका थिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालले विधि र प्रक्रियामा त्रुटि भए भ्रष्टाचारको आरोप लाग्ने सम्भावना हुने बताए । “म विगत सात वर्षदेखि स्थानीय तहमा प्रशासनिक प्रमुखको भूमिकामा छु,” उनले भने, “चन्द्रनगर गाउँपालिकाले कानुनअनुसार काम गर्दै आएको छ र अख्तियारबाट आएका निर्देशन र चिठीपत्रहरूलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छौँ ।”

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका उपसचिव तुलसीराम पौडेल, चन्द्रनगरका उपप्रमुख गीता देवी महतो, प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाल, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, जनप्रतिनिधि र कर्मचारीहरूलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार