प्रहरीबाट नै स्थानीय युवती असुरक्षित हुन् थालेपछि प्रहरी चौकी सारियो

२०८१ कार्तिक १०, शनिबार २०:४४

सर्लाही – बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरमा रहेको महाकाली प्रहरी चौकीमा कार्यरत प्रहरी कुलाउ बस्न थालेका छन् । स्थानीय बासिन्दाले प्रहरीबाटै असुरक्षा भएको भन्दै महाकाली प्रहरी चौकी सार्न माग गरेपछि डिम्बरका प्रहरी वडा नम्बर ३ को कुलाउ बस्न थालेका हुन्।

बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार जिल्ला सुरक्षा समितिले केही समयका लागि महाकाली प्रहरी चौकी डिम्बरलाई कुलाउमा राख्नका लागि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई लिखित अनुरोध गरेको थियो ।

‘दुबै कार्यालयबाट सहमति प्राप्त भएपछि महाकाली प्रहरी चौकीमा कार्यरत प्रहरी कुलाउ बस्न थालेका छन्,’ प्रमुख जिल्ला अधिकारी शर्माले भने, ‘महाकाली प्रहरी चौकीका तत्कालीन इञ्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीले डिम्बरकी साढे १७ वर्षीया किशोरीलाई बेपत्ता पारेको आरोप लागेपछि त्यहाँबाट चौकी सार्न माग हुँदै आएको थियो ।’

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक जनक ढुंगानाले तत्कालका लागि अस्थायी रुपमा महाकाली प्रहरी चौकीलाई कुलाउ प्रहरी चौकीमा राखिएको बताए । ‘महाकाली प्रहरी चौकीको भाडामा लिएको भवन जीर्ण रहेको थियो,’ उनले भने, ‘त्यहाँ फोन पनि नलाग्ने र यातायातको सुविधा पनि थिएन । त्यसैले तत्कालका लागि कुलाउमा चौकी सारिएको छ ।’

के हो किशोरी बेपत्ता प्रकरण ?

दसैँको अघिल्लो दिन २५ असोजमा महाकाली प्रहरी चौकीका इञ्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीमाथि कुटपिट भयो । जोशीलाई दाम्लोले बाँधेर स्थानीय बासिन्दाले कुटपिट गरेका थिए । बैतडी प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका हवल्दार जोशीको जिल्ला अस्पतालमा उपचार गरिएको थियो । उनीमाथि डिम्बरकी साढे १७ वर्षीया किशोरीलाई बेपत्ता पारेको आरोप थियो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक जनक ढुंगानाका अनुसार ती किशोरी २५ गते बिहान पाँच बजेको समयमा घरबाट निस्केकी थिइन् । ‘एका बिहानै पानी ल्याउँछु भन्दै ती किशोरी घरबाट निस्केकी थिइन्,’ प्रहरी निरीक्षक ढुंगानाले भने, ‘सोही समयदेखि ती किशोरी बेपत्ता भएको परिवारका सदस्यले बताउँदै आएका छन् ।’

सोही दिन दिउँसो हवल्दार जोशीलाई नियन्त्रणमा लिएर स्थानीय बासिन्दाले कुटपिट गरेका हुन् । किशोरी बेपत्ता भएको चार दिनपछि उनका बुवाले किटानी जाहेरी दिएको प्रहरी निरीक्षक ढुंगानाको भनाइ छ । ‘शुक्रबार बिहान बेपत्ता भएकी किशोरीका आफन्तले मंगलबार जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरी हवल्दार जोशीले नै बेपत्ता पारेको भन्दै किटानी जाहेरी दिएका थिए,’ इन्सपेक्टर जोशीले भने, ‘अहिले हवल्दार जोशीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएका छौं ।’

उनका अनुसार किशोरीलाई हवल्दार जोशीले नै बेपत्ता पारेको पीडित परिवारको आरोप छ । प्रहरी हवल्दार जोशीको किशोरीसँग चिनजान र निकटको सम्बन्ध रहेका तस्वीरसहितको विवरणसमेत किशोरीका आफन्तले प्रहरीसमक्ष बुझाएका छन् । यता प्रहरीको नियन्त्रणमा रहेका हवल्दार जोशीले भने किशोरीलाई बेपत्ता आफूले नपारेको बयान दिएका छन् ।

‘२५ गते बिहान पानी ल्याउन जाँदा ती किशोरीसँग मेरो भेट भएको थियो,’ प्रहरी निरीक्षक ढुंगानाका अनुसार हवल्दार जोशीले प्रहरीको सोधपुछका क्रममा भनेका छन्, ‘ती किशोरीले आफूहरुको सम्बन्धका विषयमा परिवारलाई जानकारी भइसकेको र सोही कारणले तनाब भएको बताएकी थिइन् । मैले आफू विवाहित भएको र व्यवस्थापन गर्न केही दिन समय लाग्ने बताएको थिएँ । त्यसपछि ती किशोरी पानी ल्याउन गएकी हुन् । मेरो भेट भएको छैन ।’ – शिलापत्रबाट

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार