यस वर्षको भाइटीकाको साइत सार्वजनिक

२०८१ कार्तिक १२, सोमबार १८:०८

सर्लाही – यस वर्षको भाइटीकाको साइत सार्वजनिक भएको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले आज (सोमबार) यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको हो।

समितिका अनुसार यस वर्षको भाइटीकाको साइत कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको छ। पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि बताइएको छ।

यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मंगलबारदेखि सुरु हुँदैछ । मंगलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ । यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधबार परेको छ । कागतिहार पनि बुधबार नै मनाउनुपर्ने छ।

आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइन्छ । कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाउनुपर्छ । कात्तिक १६ गते शुक्रबार औँशी परेको छ । त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले जनाएको छ।

कात्तिक १७ गते शनिबार गाई गोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हली तिहार, म्ह पूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ । यसैगरी कात्तिक २२ गते बिहीबार छठ पर्व परेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार