काठमाडौं -अदालतले पक्राउ अनुमति दिए पनि उनलाई पक्राउ गर्न भने प्रहरीले सकेको छैन । ‘हनी ट्रयाप’ घटनालाई प्रहरीले संगठित अपराध मुद्दामा अनुसन्धानअघि बढाएको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले इटहरीकी सुष्मा विक, भीमाकुमारी थापा, ताज स्लाम र भैँसेपाटी प्रमुख हुँदा इन्स्पेक्टर शाहीकै सवारी चालक प्रहरी सहायक हवल्दार महेन्द्र हमाललाई प्रहरीले थुनामा राखेर अनुसन्धान जारी राखेको छ । उनीहरू एक महिनाअघिदेखि प्रहरीकै थुनामा छन् ।
इन्स्पेक्टर शाही भने प्रहरीको फरार सूचीमा रहे पनि सामाजिक सञ्जालमा भने सक्रिय छिन् । टिकटकदेखि स्टाग्राममा उनी सक्रिय देखिएकी छन् । प्रहरी स्रोतका अनुसार उनी काठमाडौंमै बसेको दाबी छ । प्रहरी स्रोतका अनुसार उनी केही प्रहरी अधिकारी र गृह मन्त्रालयकै संरक्षणमा छिन् ।
ललितपुर प्रहरीले भने शाहीको खोजी कार्य जारी रहेको जनाएको छ । शाहीकै योजनामा ललितपुरकै एक व्यवयासीविरुद्ध बलात्कारको उजुरी दिने भन्दै ३० लाख असुल गरेर उनीहरूले छाडेको खुलेको थियो । यही समूहले दरबारमार्ग प्रहरीमा दोलखाका विदुर शर्मामाथि बरेको बलात्कार घटनामा समेत हनी ट्रायापमा पारेर रकम असुल गर्न बलात्कारको उजुरी दिएको खुलेको छ ।
जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गरे पनि प्रहरी निरीक्षक (इन्स्पेक्टर) विनुकुमारी शाही अझै पक्राउ परेकी छैनन् । ललितपुरको भैँसेपाटी प्रहरी प्रभाग प्रमुख रहँदा एक व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गर्न खोजेको खुलेपछि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको छ । ललितपुर प्रहरीको अनुसन्धानका क्रममा उनको संलग्नता देखिएपछि पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरसँग पक्राउ अनुमति मागेको थियो । – बाह्रखरीबाट