
सर्लाही – पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो।
निगमका अनुसार डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
इन्डियन आयल कर्पोरेसनले आज जारी गरेको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.२५ रुपैयाँ र डिजेलमा प्रतिलिटर १.०४ रुपैयाँ घटेर तथा मट्टितेलमा २.२४ रुपैयाँ, हवाई इन्धनमा ३.२३ र एलपी ग्यासमा प्रतिसिलिन्डर ५५.७० रुपैयाँ बढेर आएको छ ।
मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर १४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५० रुपैयाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ । नयाँ परिवर्तन गरिएको नयाँ मूल्य भोलि बिहानदेखि लागु हुने निगमले जनाएको छ ।