सर्लाही – वीरगन्जस्थित कारागारको अवस्था निकै दयनीय रहेको पाइएको छ । विशेष गरेर शौचालय, खानेपानी र बिजुलीको अवस्था नाजुक रहेको पाइएको हो । अनुगमनका लागि शनिबार खानेपानीमन्त्री प्रदीप यादव कारगार पुगेका थिए । अनुगमनका क्रममा कारागारमा खानेपानीको अभाव भएको पाइयो । शौचालय पनि एउटामात्र थियो । भान्सामा समेत छाना थिएन ।
मन्त्री यादवलाई कैदीबन्दीहरूले गुनासा सुनाएका थिए । उनीहरूले शौचालय अभावकै कारण धेरै कैदीबन्दीको पाइन्टमा नै पिसाब फेर्नुपर्ने अवस्था रहेको बताएका थिए । “एउटा यहाँ शौचालयको समस्या आयो । शौचालय भत्केको अवस्था छ । लाइन लागेर बस्नुपर्ने भएकाले धेरै कैदीबन्दीको पाइन्टमा नै पिसाब गर्नुपर्ने अवस्था देखियो,” अनुगमनपछि मन्त्री यादवले भने ।
खानेपानी र बिजुलीको समस्या पनि उस्तै छ । कारागारमा केही समय अगाडि लथालिंग वायरिङका कारण करेन्ट लागेर एकजना कैदीको ज्यान गएको मन्त्री यादवले बताए ।”कैदीबन्दीको किचनको पनि समस्या छ । छाना नभएको अवस्था हो । यी अवस्थाहरू उहाँहरूले बताउनुभयो,” उनले भने ।
मन्त्री यादवले आफूले तत्काल समस्या समाधानका लागि काम गर्न स्थानीय निकायलाई आग्रह गरेको बताए । “अब तत्काल शौचालय बनाउने काम, बोरिङ बनाउने काम, बिजुलीको वायरिङ गर्ने काम, छाना फेर्ने काम मैले तत्काल पहल गरेर सुरु गर्छौं भनेको छु । स्थानीय तहसँग पनि कुरा गरेर यो काम अघि बढाउँछु,” उनले भने । – बाह्रखरिबाट