सर्लाही – तराई-मधेशमा श्रद्धा र नियम निष्ठापूर्वक मनाइने छठ विधिवत रुपमा सुरु भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धूमधामका साथ सुरु भएको हो ।
छठको पहिलो दिन नुहाएर चोखो भई खाने विधिलाई ‘नहाय–खाय’ भन्ने गरिन्छ। प्रायः बढीजसो महिलाहरुले मनाउने यस छठ पर्वमा छठ पर्व प्रारम्भ भएसँगै चोखो चनाखो भएर सम्पूर्ण विधिहरु गर्नुपर्ने मान्यता अनुरुप आज ‘नहाय खाय’ विधि हुनेछ। आजदेखि ब्रतालु महिलाहरुले माछा, मासु, लसुन, प्याजसहित ब्रतमा प्रतिबन्ध गरिएका सामग्रीहरु नखाने मान्यता रही आएको छ।
छठ पर्वको दोस्रो दिन ‘खरना’विधि गरिन्छ। देशभर तथा भारतीय राज्य विहारमा भव्यतापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन भोलि ब्रतालुहरुले रातिमा मिठा (सख्खर) मा बनाइएको खीर खाएको विधिलाई ‘खरना’भन्ने गरिन्छ। छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्त्वका तलाउ र नदी परिसर सिङ्गारिएका छन्। अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महत्वपूर्ण पर्व छठको तयारी जोडतोडका साथ सुरु भएको छ।
नियम निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिको रुपमा रहेको छठ पर्वमा आवश्यक पर्ने सामग्रीहरुको जोहो र किन मेल गर्न सर्वसाधारण अहिले व्यस्त छन्। भागवान सूर्य देवको उपासना गरिने छठमा व्रतालुले व्रत सङ्कल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दुध, माटोको हात्ति, ढकनी, चढाउने परम्परा रहेको छ। छठ पर्वको मुख्य दिन मानिने षष्टि तिथिका दिन एक बिहानै नुहाईधुआई गरी निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मर सम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ दिने परम्परा रही आएको छ।
तराई मधेशमा यस विधिलाई साँझको अर्घ अर्थात ‘सझुका अर्घ’ भनिन्छ। पोखरी, ईनार, तलाउ, नदी, आदि ठाउँहरुमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई सूर्यलाई अघ दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ। बिहानको उदाउँदो सूर्यलाई दिइने अघलाई ‘भोरका अर्घ’ भनिन्छ।
पण्डित रामनरेश झा व्रतको लागि आजबाट पवित्रताको सञ्चय सुरु भएको बताउँछन्। ‘खानपानको आधारले प्याज,लसुन माछा,मासु यिनीहरूको परित्याग गर्ने। चोखो बस्ने, खाने। आजदेखि पूर्णरुपले शुद्धताको पालना गर्न सुरु गरिदिनुपर्छ।’तराई मधेसमा मात्र मानिने छठ पर्व अब देशको अधिकांश सहरहरूमा विस्तार भइसकेको छ। हरेक वर्ष ब्रतालुहरूको संख्या बढ्दो छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने एकमात्र पर्व छठ हो।